सुपथ पसल पुगेका उपभोक्ता भन्छन् : भाटभटेनी र अन्य पसलभन्दा सस्तो लाग्यो
काठमाडौं । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति निम्तिए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सहुलियत मूल्यको पसलहरू सञ्चालनमा ल्याएको छ ।
कम्पनीले दाल चामल तथा अन्य खाद्यान्नका सामग्रीहरू धमाधम विक्री गरिरहेको छ । वातावरण अनुकूल नभएकाले उपभोक्ताहरूको उपस्थिति नभए पनि कम्पनीले सेवा विस्तार गरेको हो । दशैंकै मुखमा मुलुकमा अस्थिरता निम्तिएकाले उपभोक्ताले चासो नदेखाएकोमा कम्पनीका कर्मचारीहरूले दुखेसो व्यक्त गरेका छन् ।
नेपालको स्थिति सोचे जस्तो नभएको र विगतमा जस्तो उपभोक्तहरुको भिडभाड नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी बागमती प्रदेशकी प्रमुख धर्मकुमारी राजवंशीले बताइन् ।
उनले आन्दोलनका कारण उपभोक्तहरुको मनमा डर बसेकाले व्यापार कम्पनीलाई प्रभाव परेको बताइन् ।
‘हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै सहुलियत सुपथ मूल्यमा सामानहरू विक्री वितरण गर्ने गरेका छौँ, यसपालि पनि पूर्व तयारीका साथ विक्री सुरु गरेका हौँ । तर मुलुकको अवस्था सोचेजस्तो भएन । त्यसैले भव्यताकासाथ उद्घाटन गर्न सकिएन । आन्दोलनका कारण उपभोक्ताहरू त्रासमा छन् । जसको प्रभाव परिरहेको छ’ उनले भनिन् ।
उनले अन्य स्थानमा पनि सुपथ मूल्य सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिइन् । उपत्यकामा रामशाहपथ, नख्खु, थापाथली र दक्षिणकालीमा पसल सञ्चालनमा आएको जानकारी दिइन् ।
‘हाम्रो कार्यालय मार्फत चार वटा शाखाहरू रामशाहपथ, नख्खु, थापाथली र दक्षिणकालीबाट पनि सञ्चालन भइरहेको छ । गोदावरी र चाँगुनारायण साथै रसुवाबाट पनि सञ्चालन गर्ने लक्ष्यमा छौँ । सबै पूर्वाधार अनुरूप सञ्चालन गर्नुपर्ने भएकाले पहिलो हप्ता भित्र नै रसुवादेखि गोदावरीसम्म सञ्चालन गर्नेछौं,’ उनले भनिन् ।
हालको अवस्था सहज नभएको र यातायातको सुविधा नभएकाले पनि विक्रीमा असर परेको सुनाइन् ।
उनले चामल, दाल गेडागुडी, मसलाजन्य सामान रैथाने बालीहरूमा प्रति केजी १० रुपैयाँसम्म छुटमा साथै चिउरा एवम् आँटालगायतका पिठो भने प्रतिकेजी सात रुपैयाँसम्मको छुटमा विक्री गरिरहेको बताइन् । उनले यस वर्ष विषम परिस्थितिका कारणले दशैँमा खसी–बोका वितरण गर्न नसकिने बताइन् ।
सुपथ मूल्यमा सामान खरिदका लागि आएका उपभोक्ता प्रेम कृष्ण श्रेष्ठले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिएको सेवा सुविधा सहज भएको साथै सस्तो रहेको बताए ।
‘सधैँ सुपथ पसलहरूबाटै सामान लाने गरेको छु । सस्तो महँगो भनेको त्यस्तै हो तर सबै सामाग्री एकै ठाउँमा पाइन्छ । आजसम्म भाटभटेनी या अन्त गएर सामान खरिद गरेको छुइन । हरेक वर्ष यसरी पसल सञ्चालन गरे राम्रो हुने थियो,’ उनले भने ।
त्यस्तै अर्का उपभोक्ता ठाकुर राम पहरीले दशैंको बेला मात्र नभई अरुबेला पनि आउने गरेको र सरकारले चाडपर्वलाई विषेश जोड दिएर सहुलियत मूल्यमा विक्री वितरण गर्दा खुशी लागेको पनि बताए ।
त्यस्तै अर्का उपभोक्ता भवानी सापकोटाले सधैँ भाटभटेनीमा किन्ने गरेकोमा महँगो भएको भन्दै यहाँ सस्तोमा पाउने थाहा पाएर आएको समेत बताइन् ।
‘पहिला पहिला भाटभटेनीमा लिने गरेका थियौँ । तर यहाँ सस्तोमा पाइने थाहा पाएर आएको हुँ । कम्पनीले सधैँ यसरी सुविधा दिए राम्रो हुने थियो ।’















