दुई दर्जन होटलमा करिब २५ अर्बको क्षति, हिल्टनमा मात्रै ८ अर्बको नोक्सानी
काठमाडौं । होटल संघ नेपालले जने जी आन्दोलनको क्रममा देशभर झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार आर्थिक नोक्सानी करिब २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
संघका अनुसार काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ (विराटनगर), धनगढी, महोत्तरी, दाङ (तुल्सीपुर) लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी र विदेशी ब्रान्डसहितका चर्चित होटेलहरू प्रत्यक्ष प्रभावित भएका छन् ।
प्रारम्भिक तथ्याङ्क अनुसार काठमाडौंस्थित हिल्टन होटलमा मात्र करिब ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । जसलाई समेत समेट्दा देशभर करिब २५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।
संघले भनेको छ कि प्रभावित होटेलहरू मर्मत र पुनर्निर्माण नगरी सञ्चालनमा ल्याउन नसकिने भएकाले करिब दुई हजारभन्दा बढी कामदार तथा कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर परेको छ ।
चाडपर्वको समयमा रोजीरोटी प्रभावित भएकाले होटेलहरूले बैंक तथा अन्य वित्तीय संस्थाहरूसँगको ऋण तथा आर्थिक दायित्व पूरा गर्न समस्या देखिएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘सुशासन, विकास र जनताले खोजेको मूलभूत परिवर्तनका लागि नवयुवाहरूले गरेका बलिदानका बीच प्रारम्भ भएको संक्रमणकालमा सार्वजनिक लगानीसहित निजी क्षेत्रका होटेलहरूमा भएको यस किसिमको ठूलो क्षतिको यथाशीघ्र न्यायिक छानबिन हुनुपर्छ ।’
होटल संघले प्रभावकारी न्यायिक समिति गठन गरी दोषीलाई दण्ड र क्षतिपूर्ति सुनिश्चित गर्न, होटेलहरूको मर्मत–पुनर्निर्माणका लागि राज्यबाट विशेष आर्थिक प्याकेज उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
संघले लगानीकर्ताको मनोबल जोगाउँदै आर्थिक स्थायित्व कायम गर्न र परिवर्तनकारी नयाँ युगसँगै पर्यटन विकासमा अघि बढ्न सरकारको सहकार्य आवश्यक भएको पनि उल्लेख गरेको छ ।















