जब मन्त्रीहरूको उद्धारमा हेलिकप्टर भैंसेपाटी पुग्यो, अनि आन्दोलनकारी उग्र बने
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । देशभरि तीव्र रूपमा फैलिएको जेनजी आन्दोलनले मंगलबार नयाँ मोड लिँदै ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा भीषण आगलागी भयो । आन्दोलन उग्र बन्दै गएपछि आक्रोशित समूहले मन्त्री क्वार्टरमा आक्रमण गरी आगजनी गर्यो ।
सरकारी तथ्यांकअनुसार करिब १ अर्ब ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको मन्त्री क्वार्टर आगलागीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । आगोका कारण क्वार्टरमा रहेका अधिकांश भवनहरू, सरकारी सामग्री, संरचनाहरू र महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन् ।
आन्दोलनबारे प्रतिक्रिया लिँदै नेपाल न्यूज बैंकले भैंसेपाटी निवासी शत्रु धन साहले भने, ‘यो आन्दोलन जरुरी थियो । युवाहरू रोजगारको अभावमा देश छाडिरहेका छन्, नेताहरू भ्रष्टाचारमा लिप्त छन् । यस अवस्थामा जनआक्रोश स्वाभाविक हो। तर जुन सम्पत्ति जलाइयो, त्यो सरकारी भए पनि हाम्रो हो । त्यसैले यति हिंसात्मक ढङ्गले जानु ठिक भएन ।’
उनले जेनजी आन्दोलनले देशमा परिवर्तन ल्याएको उल्लेख गर्दै भने, ‘दुई दिन पनि नपुग्दै सरकारले राजीनामा दियो । बङ्गलादेशमा यस्तो आन्दोलन महिनौँसम्म चल्यो । तर अब नेतृत्व युवाको हातमा जानुपर्छ । देशको सुरक्षा अवस्था कमजोर भएको छ, नयाँ सरकार चाँडै गठन हुनुपर्छ ।’ मन्त्री क्वाटर शान्त रहेपनि नेपाली सेनाको हेलिकप्टर मन्त्रीहरूलाई उद्धार गर्न पुगेपछि आन्दोलनकारी आक्रोशित बनेका थिए ।
सुरुमा स्थानीय महिलाहरू नै तोडफोडमा उत्रिएका थिए । पछि आन्दोलनकारीको हुल पुगेपछि सुरक्षाकर्मीहरू समेत पछि हटेका थिए।
संरचना ध्वस्त बनेको देखेकी ६७ वर्षीया स्थानीय सावित्रा पौडेलले त्रासका बीच भनिन्, ‘यस्तो घटना जीवनमा कहिल्यै देखेकी थिइनँ । अहिले प्रहरी छैनन्, असुरक्षित छौँ । नेताहरूको कारण यस्तो भयो भन्ने सुनिन्छ तर अब के हुने हो ? सरकारी सम्पत्ति पनि त हाम्रो हो । सबै जलेर सकियो भने अब हाम्रो बालबच्चाले के खाने, कहाँ बस्ने ?’








