नेपालमा जेन जी प्रदर्शन पछिको घटनाले विदेशी लगानीकर्तालाई निरास बनायो: एनआरएनए बद्री समूह
|
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) डा. बद्री केसी समूहले नेपालमा जेन जी प्रदर्शन पछिको घटनाले विदेशमा रहेका नेपाली र विदेशी लगानीकर्तालाई पनि निराश बनाएको बताएको छ।
केसी समूहले बुधवार विज्ञप्ति जारी गर्दै बालुवाटारस्थित संघको मुख्य सचिवालय एवं संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको निजी निवासमा भएको आगजनीले थप मर्माहत बनाएको उल्लेख गरेको छ ।
‘संसारभरिका गैर आवासीय नेपालीको नेपालमा ठूलो लगानी छ । संघले सधैँ गैर आवासीय नेपाली र विदेशीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै आएको छ । यस्ता किसिमका घटनाले विदेशमा रहेका नेपाली र विदेशी लगानीकर्तालाई पनि निराश बनाएको छ ।’ विज्ञप्तिमा भनिएको छ।
साथै केसी समूहले अक्टोबरमा गर्ने भनिएको अधिवेशन पनि आगामी ६ महिना भित्र गर्ने गरी स्थगित गरिएको जनाएको छ।
प्रेस विज्ञप्तिको पूर्ण पाठ
काठमाडौँसहित देशका विभिन्न स्थानमा २०२५ सेप्टेम्बर ८ र ९ मा भएको ‘जेनजी’ पुस्ताको प्रदर्शन र त्यसपछि उत्पन्न भएको असामान्य परिस्थितिप्रति गैर आवासीय नेपाली संघ गम्भीर चिन्ता व्यक्त गर्दछ। प्रदर्शनका क्रममा र त्यसपछि पनि देशैभरि भएका सार्वजनिक सम्पत्तिमाथि आगजनी, तोडफोड, हिंसा र लुटपाटका घटनाले गैर आवासीय नेपाली संघ स्तब्ध भएको छ । बालुवाटारस्थित संघको मुख्य सचिवालय एवं संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोको निजी निवासमा भएको आगजनीले थप मर्माहत बनाएको छ । संसारभरिका गैर आवासीय नेपालीको नेपालमा ठूलो लगानी छ । संघले सधैँ गैर आवासीय नेपाली र विदेशीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै आएको छ । यस्ता किसिमका घटनाले विदेशमा रहेका नेपाली र विदेशी लगानीकर्तालाई पनि निराश बनाएको छ । प्रदर्शनका क्रममा देशभर ३० युवाको दुःखद निधन र १ हजारभन्दा बढी घाइते भएका समाचारले विश्वभरका नेपाली समुदायलाई मर्माहत बनाएको छ। दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।
गैर आवासीय नेपाली संघ युवाहरूको चेतनशीलता र देशप्रतिको उत्तरदायित्व बोधलाई सकारात्मक रूपमा ग्रहण गर्दछ। मुलुक सरकारविहीन भएको अहिलेको परिस्थितिलाई यथाशीघ्र अन्त्य गर्दै सार्वभौमसत्ता, राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यको संरक्षण गर्दै, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक अधिकारहरू हनन नहुने गरी सार्थक र परिणाममुखी संवादमार्फत यथाशीघ्र निकास निकाल्न र युवापुस्ताका माग सम्बोधन गर्न संघ आग्रह गर्दछ।
सङ्कटको यस घडीमा मुलुकमा स्थायित्व र सामान्य स्थिति कायम गर्न राज्यका सबै निकायको सकारात्मक र सक्रिय भूमिका आवश्यक छ। यो संघ सम्बद्ध सबैलाई यथाशक्य योगदान दिन आग्रह गर्दै आफूले पनि मुलुकको समग्र पुनर्निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
यसको साथै सङ्कटको यस घडीमा विश्वभर रहेका सबै गैर आवासीय नेपालीलाई विगतका तिक्तता र आपसी मतभेदलाई छोडेर सहकार्य, एकता र मातृभूमिप्रतिको उत्तरदायित्व बोधसहित एकबद्ध भई अघि बढ्न संघ आह्वान गर्दछ।
यसै सन्दर्भमा, २०२५ को अक्टोबर ११–१४ का लागि तय गरिएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन आगामी ६ महिनाभित्र गर्ने गरी स्थगित गरिएको छ। नयाँ मितिमा हुने बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनमा सहभागी हुन सबै पक्षलाई अनुरोध गर्दछौँ।
अध्यक्ष, डा. बद्री के.सी.
अन्तर्राष्ट्रिय समन्वय परिषद्
मिति : १० सेप्टेम्बर २०२५












