नेपाल घटनामा ह्यारिसबर्गमा मैनबत्ती प्रज्वलन…
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा नेपालमा भएको जेनजीको प्रदर्शनमा दिवङ्गत भएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मंगलवार मैनबत्ती प्रज्वलन गरिएको छ।
ह्यारिसबर्गको डेरी स्ट्रिटमा भएको कार्यक्रममा यस क्षेत्रमा रहेका नेपाली र नेपाली भाषी भुटानी समुदायका व्यक्तिहरूको ठूलो संख्यामा उपस्थित थियो।
उनीहरुले नेपालको नक्सा र राष्ट्रिय झन्डाको चित्र बनाएर वरिपरि मैनबत्ती प्रज्वलन गरेका थिए। नृत्य तारा डान्स स्टुडियो र ब्लुमिङ्ग लोटस डान्स स्टुडियोका विद्यार्थीहरूले नेपालको नक्सा र राष्ट्रिय झन्डाको चित्र कोरेका थिए।
कार्यक्रममा भुटनीज कम्युनिटी अफ ह्यारिसबर्गका अध्यक्ष तिलक निरौला, चलचित्र कर्मी विशाल ढुङ्गाना, विद्यार्थीहरू शोभा घिमिरे, स्नेहा वन,राजेन्द्र खड्का, मेलिना मोक्तान, सुरज हमाल क्षेत्री लगायतले नेपालमा भएका घटना प्रति दुख व्यक्त गरेका थिए।
सेप्टेम्बर ८ तारिख नेपालमा जेन जीको तर्फबाट भएको प्रदर्शनमा सरकारी दमन हुँदा १९ जना भन्दा बढीको निधन भएको थियो। त्यसको भोली आन्दोलन चर्कँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए।
त्यस पछि पनि परिस्थिति नियन्त्रणमा नआउँदा मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबार सहित धेरै सरकारी भवनहरूमा आगजनी भएका छन्।
यस्तै नेपाली कांग्रेस र नेकपा एमालेका अधिकांश नेताहरूको घर तथा निजी सम्पत्तिमा आगलागी भएका छन्। यस्तै केही सञ्चार गृह सहित विभिन्न उद्योग, व्यवसायीका निजी सम्पत्ति र उद्योग कलकारखानामा आगजनी भएको छ।
















