एमालेको विधान महाअधिवेशन: गैर आवासीय नेपाली सम्बन्धी कानुन बनाउन सरकार सँग माग
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ सत्तारुढ नेकपा एमालेको विधान महाधिवेशनमा गैर आवासीय नेपाली सम्बन्धी कानुन बनाउन सरकार सँग माग गरिएको छ।
आइतबार काठमाडौँमा सम्पन्न तीन दिने विधान महाधिवेशनले सो माग गरेको हो।
‘प्रवासमा रहेका नेपालीहरूको हक अधिकार र सम्मानको लागि हाम्रो पार्टी निरन्तर प्रयत्नशील छ, गैर आवासीय नेपाली संघ, प्रवासी नेपाली मन्च लगायतका संघ/सङ्गठनले उठाउँदै आएको माग प्रति हाम्रो पार्टीको एक्येवद्धता रहेको छ ।’ महाधिवेशनको प्रतिवेदनमा उल्लेख छ।
यस्तै विदेशमा रहेका नेपालीहरूका लागि मतदानको व्यवस्था गर्न पनि माग गरिएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘यसै क्रममा प्रवासी नेपालीहरूको हक अधिकार, पुजी प्रविधि, शिपको हस्तान्तरण, देश भित्र लगानी, नेपाली पहिचानको निरन्तरता, मतदान सम्बन्धी व्यवस्था लगायतको विषय समेटेर गैर आवासीय नेपाली सम्बन्धी कानुन निर्माण गर्न यो महाधिवेशन नेपाल सरकार सँग माग गर्दछ ।’
प्रतिवेदनमा विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगलाई प्रवासी नेपालीका समस्या समाधानको लागि अधिकतम पहल गर्न ध्यानाकर्षण गर्दछ भनिएको छ।
यसै बीच प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले विदेशमा रहेका नेपालीका बारेमा देशको पार्टीको विधान महाधिवेशनमा दस्ताबेज हुनु उपलब्धि पूर्ण भएको बताए।
‘विधान महाअधिवेशनको प्रतिवेदनमा यति कुरा उल्लेख भए पछि अब हामीलाई हाम्रो माग कार्यान्वयन बाटो खुल्यो।’ समाज टाइम्स सँगको कुराकानीमा थापाले भने।
एमालेको विधान महाधिवेशनमा अमेरिका सहित विश्वभरबाट ३२ जनाले भाग लिएका थिए।
र यो पनि…
















