एनआरएनए एनसीसीका नवनिर्वाचित कमिटीको स्वागत तथा बधाई आदान–प्रदान कार्यक्रम सम्पन्न

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) बद्री केसी समूहले जुलाई महिनाभित्र निर्वाचन सम्पन्न गरेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र आइसीसी सदस्यहरूको सम्मानमा स्वागत तथा बधाई आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार साँझ (१० अगष्ट २०२५) भर्चुअल माध्यमबाट आयोजित उक्त कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीले साधारण सभा र निर्वाचन दुवै एनसीसीको वैधानिक अधिकार भएको उल्लेख गर्दै, यी प्रक्रियालाई सहज र सफलतापूर्वक सम्पन्न गराएकोमा सबै एनसीसीहरूप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष डा. हेमराज शर्माले ‘गैर आवासीय नेपाली संघको यात्रा’ शीर्षकमा प्रस्तुति दिँदै, नेपालको संविधानमा २०७२ सालदेखि गैर आवासीय नेपालीको परिभाषा प्रवेश पाएसँगै यो विषय विश्वव्यापी नेपाली डायस्पोरामा स्थापित भएको बताए।
महिला उपाध्यक्ष रोजिना प्रधान राईले संघको गरिमा एनसीसीहरूकै बलमा रहेको भन्दै, विधि र कानुनको पालना गर्दै संघको प्रतिष्ठा यथावत् राख्न सुझाइन।
महासचिव गौरीराज जोशीले सहजीकरण गरेको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष द्वय रामशरण सिम्खडा र रबिनप्रसाद शेरचन, प्रवक्ता फणिन्द्र पन्त, महिला संयोजक अनुजा प्रधान,युवा उपाध्यक्ष रोशन थापा, डिआरसी रोबर्ट लिम्बु, युरोप सचिव भुवन अर्याल, सह–कोषाध्यक्ष कञ्चन थापा, सचिव पारसमणि पोख्रेल, ओसियाना क्षेत्रीय संयोजक दिनेश पोख्रेल, अमेरिका क्षेत्रीय संयोजक वेद बस्नेतले पनि नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूले आफ्नो आगामी कार्यदिशा, अनुभव र सुझाव प्रस्तुत गरेका थिए ।