रौतहटमा मन्त्री यादवको आक्रामक अभिव्यक्ति :डा. सिके राउतको हत्या गर्न सक्ने चेतावनी
काठमाडौँ/ भौतिक पूर्वाधार मन्त्री रेणु यादव रौतहटमा पुगेर आक्रामक रूपमा प्रस्तुत भएकी छिन् । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको गौर घटना दोहोरिएर हत्या गर्न सक्ने चेतावनी दिएकी हुन् ।
जनता समाजवादी पार्टीकी नेतृसमेत रहेकी मन्त्री यादवले बुधवार रौतहटको गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राउतलाई गौर घटना दोहोरिन सक्ने भएकाले सचेत रहन चेतावनी समेत दिइन् ।
सिके राउतको सचिवालयले सार्वजनिक गरेको भिडियोमा मन्त्री यादवले हिन्दी भाषामा हिंसा भड्काउने अभिव्यक्ति दिँदै इतिहासलाई नभुल्न सिके राउतलाई चेतावनी दिएकी छन् ।
तत्कालीन मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाले एकै ठाउँमा कार्यक्रम राखेपछि ०६३ चैत ७ गते रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको थियो । यो घटनालाई ‘गौर हत्याकाण्ड’ भनेर चिनिन्छ ।
वि.सं. २०६३ मा जारी भएको अन्तरिम संविधान जलाएर मधेस आन्दोलन थालेको उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम आन्दोलनमा रहेकै बेला उक्त हत्याकाण्ड भएको थियो ।
यादवकै निर्देशनमा रौतहटमा उनका कार्यकर्ताले माओवादी कार्यकर्तालाई निर्मम हत्या गरेको तत्कालीन माओवादीले दाबी गरेको थियो । अहिले फोरम र माओवादी दुवै सत्तारुढ गठबन्धनका दुई प्रमुख घटक हुन् । भौतिक पूर्वाधार मन्त्री रेणु यादव बुधवार कार्यक्रममा जानुअघि सिके राउतका कार्यकर्ताले कालो झन्डा देखाएका थिए ।














