एनआरएनएमा एकता पक्षधरमै एकता टुट्न हुँदैन : महेश श्रेष्ठ

Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता, महेश कुमार श्रेष्ठले एकता पक्षधरहरू बिचमा नै एकता टुट्न नहुने बताएका छन्।
एनआरएनएको एकता महाधिवेशन मे ३-५ तारिख काठमाडौँमा हुँदै छ। यद्यपि एकता महाधिवेशन रोक्न भन्दै डा. बद्री केसी पक्ष सर्वोच्चमा गएको छ ।
श्रेष्ठले अदालतले अन्यथा नभनेको अवस्थामा महाधिवेशन हुने र त्यस्तोमा नेतृत्वका लागि सर्वसम्मत लागि प्रयास गर्नु पर्ने बताए।
‘हामीले सहमति गर्न ठुलो मन बनाएर जाँदा त्यसले सबैलाई समेट्ने बाटो खुल्छ।’ समाज टाइम्स सँगको कुराकानीमा श्रेष्ठले भने।
‘अहिलेको अवस्थामा हार्ने पक्ष फेरि अदालतमा जानु पर्ने हुन्छ, त्यसै पनि एउटा समूह बाहिर नै रहने भएको छ।’ श्रेष्ठले भने, ‘यस्तो अवस्थामा हामी बिचमा सहमतिको विकल्प छैन।’
उनले आफू अध्यक्षको दाबेदार रहेको तर सहमतिका लागि बाधक नरहने बताए। ‘म स्वाभाविक रूपमा अध्यक्षको दाबेदार हो, तर सहमति र एकताका लागि तयार छु।’ श्रेष्ठले भने, ‘अहिले विषम परिस्थितिमा महाधिवेशन हुन गइरहेको छ, अब आउने नेतृत्वले छुटेकाहरूलाई पनि स्वागत गर्न सक्ने हुनु पर्छ, म त्यसका लागि सक्षम छु।’
श्रेष्ठले अब महाधिवेशन सार्नु उपयुक्त नहुने बताए। ‘एकता महाधिवेशनका लागि डेलिगेटहरू काठमाडौँ आइसक्नु भएको छ कति बाटोमा नै हुनुहुन्छ, अधिवेशनको तयारी पुरा भएको छ। यस्तो अवस्थामा अब महाधिवेशन पर सार्नु हुँदैन।’ श्रेष्ठले भने, महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर त्यस पछि पनि एकताको प्रयास जारी राख्नु पर्छ।’
एनआरएनएको अध्यक्षका लागि आरके शर्मा, केशव पौडेल पनि प्रतिस्पर्धामा रहेका छन्।