लोकतान्त्रिक अपाङ्ग संघको लेटर प्याड र छाप दुरुपयोग भएकोप्रति आपत्ति
काठमाडौँ । राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले संस्थाको लेटर प्याड तथा छापको दुरुपयोग गरेर गतिविधि गरिएकोप्रति आपत्ति जनाएको छ ।
संघबाट मिति २०८१ चैत्र ३१ गते नयाँबर्षको शुभकामना आदानप्रदान कार्यक्रम तथा अन्य गतिविधि सामाजिक सञ्जालमा सम्प्रेषण गरेर भ्रम सिर्जना गरेको पनि जनाएको छ ।
शनिबार महासचिव द्वय गणेशबहादुर खत्री र किरणकुमार पासवानद्वारा जारी विज्ञप्तिमा अपाङ्ग संघको तर्फबाट शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगरिएको स्पष्ट पारेका छन् ।
‘नेपालीहरूको नयाँ वर्ष २०८२ सालको पावन अवसरमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ परिवार सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू र स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, संवृद्धि, सुस्वास्थ्य, उन्नति र प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
यसै सन्दर्भमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघबाट मिति २०८१ चैत्र ३१ गते नयाँबर्षको शुभकामना आदानप्रदान कार्यक्रम तथा अन्य गतिविधि सामाजिक सञ्जालमा सम्प्रेषण भएको र संघका साथीहरू बीच भ्रम सृजना भई कार्यक्रमका बारेमा बारम्बार सोधपुछ गरेको हुँदा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको तर्फबाट शुभकामना आदानप्रदान कार्यक्रम आयोजना नगरिएको जानकारी गर्दछौ,’ विज्ञप्तिमा अगाडि भनिएको छ,‘ यस्ता सूचनाको भ्रममा नपर्न सबैमा आग्रह गर्दछु । यसै गरी यस संघको लेटर प्याड तथा छापको समेत दुरुपयोग भएको पाइएकोले यस्ता अनधिकृत कार्यहरू तत्कालै रोकी राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घलाई अझ बलियो र सङ्गठित बनाउँदै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिमा सहकार्य गर्नका लागि सम्बन्धित पक्षसँग अनुरोध गर्दछौ ।’
काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा मिति २०८१ चैत्र ८ र ९ गते संघको प्रथम केन्द्रीय महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनबाट माधव चम्लागाईको अध्यक्षतामा नयाँ कार्य समिति घोषणा गरिएको थियो ।
तर नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै अध्यक्षका प्रत्याशी विकास थापा र कल्पना खड्काले समानान्तर समिति बनाएका थिए । थापा समूहले अलग्गै गतिविधि गर्दै आइरहेका छन् ।