बानामा जीतेन गुरुङको प्यानल नै विजयी, संस्थापन पक्ष तेस्रो
बाल्टिमोर, मेरिल्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) जीतेन्द्र (जीतेन) गुरुङ अध्यक्षमा विजयी भएका छन्। जीतेन वर्तमान कार्यसमितिको सल्लाहकार हुन्।
सोमबार बिहान सार्वजनिक नतिजा अनुसार जीतेनले दुई सय ६ मतले विजयी भए। कुल खसेको २७ सय नौ मत मध्ये जीतेनले ११ सय ६१ मत ल्याएका थिए। अध्यक्षका उम्मेदवार कोशिस भण्डारी नौ सय ५५ मत सहित दोस्रो भए।
संस्थापन पक्षकी अध्यक्ष उम्मेदवार तथा वर्तमान कार्यसमितिकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी भारती पाँच सय ६१ मत सहित तेस्रो भइन्।
बानामा सन् २०११ पछि संस्थापन पक्षले सत्ता गुमाएको हो। तत्कालिन अध्यक्ष रविना थापा पछि विजय श्रेष्ठले चुनाव जिते यता बाना निर्वाचनमा प्रवासी नेपाली मञ्च निर्णायक हुँदै आएको थियो। विजयले दुई कार्यकाल चलाए। त्यस पछि कुलमणि आचार्य र त्यस पछि अनुशुया वन्त अध्यक्ष भइन। पछिल्लो दुई कार्यकाल सुबोध विलास पन्त अध्यक्ष रहे।
यस पटक जीतेनले एक वर्ष भन्दा बढी समय देखि अध्यक्षका लागि तयारी गरेका थिए। बानाको वरिष्ठ उपाध्यक्षमा जीतेन प्यानलकै जनक थापा विजयी भए। जनकले नौ सय ८५ मत प्राप्त गरे। कोशिस प्यानलबाट वरिष्ठ उपाध्यक्षकी उम्मेदवार डा. एकता कोइराला आठ सय ५७ मत सहित दोस्रो स्थानमा रहिन।
लक्ष्मी प्यानलका वरिष्ठ उपाध्यक्षका उम्मेदवार सागर घिमिरे सात सय ५३ मत सहित तेस्रो स्थानमा रहे। उनी वर्तमान कार्यसमितिका महासचिव हुन्।
उपाध्यक्षमा जीतेन प्यानलकै ब्रजेश महर्जन विजयी भए। उनले ११ सय २५ मत पाए। उपाध्यक्षमा कोशिस प्यानलका गणेश भट्टराई आठ सय ६६ मत सहित दोस्रो र लक्ष्मी प्यानलका प्रेम कमली पाँच सय ७५ सहित तेस्रो भए।
महासचिवमा पनि जीतेन प्यानलका शलिन बस्नेत विजयी भए। शलिनले एक हजार एक मत प्राप्त गरे। महासचिवमा कोशिस प्यानलका तारा खराल न्यौपाने आठ सय ४८ मत सहित दोस्रो र लक्ष्मी प्यानलका दामन विक्रम शाह ६ सय ९८ मत सहित तेस्रो भए।
सचिवमा जीतेन प्यानलका सुशील खत्री नौ सय ३९ मत सहित विजयी भए। कोशिस प्यानलका जनक बहादुर पुन मगर आठ सय ७५ मत सहित दोस्रो र लक्ष्मी प्यानलका वसन्त बस्नेत सात सय २६ मत सहित तेस्रो भए।
कोषाध्यक्षमा जीतेन प्यानलकी सज्नु डङ्गोल नौ सय ९७ मत सहित विजयी भइन् । लक्ष्मी प्यानलकी करुणा खड्का आठ सय २४ मत सहित दोस्रो स्थानमा रहिन।
कोशिस प्यानलका राजेन्द्र रेग्मी सात सय २२ मत सहित तेस्रो स्थानमा रहे।
बोर्ड मेम्वरमा ऋदय केसी, प्रवीण लामा, अर्जुन क्षेत्री, भुपेश जङ्ग शाही, सोनिका चुनारा , डा. कृष्ण विष्ट , लक्ष्मी राम शाह, राजु सुवेदी विजयी भए।
नोट : यस अगाडि विजयी सदस्यहरुको नाम गलत हुन गएकोमा क्षमाप्रार्थी सहित सच्चाइएको छ।