सरकारमा हुँदा एउटा र बाहिर रहँदा अर्को त्यो ढङ्गबाट जानु हुँदैन : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैदेशिक नीतिका सवालमा र वैदेशिक सहायताका सवालमा नेपाली कांग्रेस पार्टीका निर्णयहरू एउटै अनुकूलका हुने बताएका छन् ।
बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस पार्टी सरकारमा हुँदा एउटा र सरकार बाहिर रहँदा खेरी अर्को निर्णयहरू कहीँले नगर्ने बताएका हुन् ।
उनले हरेक राजनीतिक पार्टीले अनुकूलतामा एउटा प्रतिकुलतामा अर्को गर्दै अगाडि बढ्न नहुने बताए ।
उनले भने, ‘नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक गोष्ठी जस्ता धेरै संवादहरू हुन आवश्यक छ । यस्तो विषयहरूमा सुसूचित बहस हुनुपर्छ । यस्तो विषयहरूमा तथ्य र प्रमाणका आधारमा बहस हुनुपर्छ । यस्ता विषयहरू राजनीतिक उत्तेजनाका विषयहरू बनाइनु हुँदैन । राजनीतिक स्वार्थका विषयहरू पनि बनाइनु हुँदैन ।’
थापाले भने, “म नेपाली कांग्रेसको तर्फबाट प्रस्टका साथ भन्न सक्छु की वैदेशिक नीतिका सवालमा र वैदेशिक सहायताका सवालमा नेपाली कांग्रेस पार्टीका निर्णयहरू,हाम्रा आफ्ना अडानहरू, हामीले लिएका पक्षधर ताहरू हेर्यौं भने नेपाली कांग्रेस सरकारमा होस् या सरकार भन्दा बाहिर होस्, नेपाली कांग्रेसका निम्ति राष्ट्रिय राजनीतिको अवस्था अनुकूलता होस् या प्रतिकुलता होस् यी विषयहरूमा पार्टीको पोजिसन बद्लिएको छैन ।’
‘हामी सरकारमा हुँदा एउटा र सरकार बाहिर रहँदा एउटा र अनुकूलतामा एउटा प्रतिकुलतामा एउटा त्यो ढङ्गबाट जानु हुँदैन । अरू राजनीतिक दलहरूबाट पनि यहीँ कुराको अपेक्षा गर्न सकियोस् । यसो गर्यो भने मात्र हामी सही बाटोमा जान सक्छौँ ।’ थापाले भने।
साथै उनले वैदेशिक सहायता निश्वार्थ कहिले नहुने बताए । उनले अहिले नेपालको राष्ट्रिय स्वार्थ छोटो समयभित्र तीव्र गतिमा विकासका आकाङ्क्षाहरू पूरा गर्नु रहेको बताए ।
उनले भने, ‘वैदेशिक सहायतामा हामी प्रस्ट छौँ यो निश्वार्थ हुँदैन । तर वैदेशिक सहायता जसले लियो उसको पनि स्वार्थ हुन्छ । आज हाम्रो नेपालको राष्ट्रिय स्वार्थ के हो भने हामीलाई छोटो समयभित्र तीव्र गतिमा विकासका आकाङ्क्षाहरू पूरा गर्नु छ , त्यसका निम्ति हामीसँग स्रोत र साधनको अभाव छ । त्यो स्रोत र साधनको जोहो गर्नु हाम्रो राष्ट्रिय स्वार्थ हो । स्रोत र साधनलाई जोहो गर्नका निम्ति एउटा माध्यम हो वैदेशिक सहायता ।’
फोटो रासस















