पूर्व राष्ट्रपति विद्या भण्डारीलाई विश्वप्रकाशको सुझाव : सामाजिक परिवर्तनको नायक बन्नुहोस्
|
Getting your Trinity Audio player ready...
|
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिककर्मीहरुद्धारा गरिने साहित्य सृजनाले सामाजिक परिवर्तनको अभियानलाई थप बल पुर्याउने बताएकी छिन् ।
शुक्रबार काठमाडौँमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पुस्तक विमोचन समारोहमा उनले साहित्य समाजको दर्पण मात्र नभई राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणको लागि महत्त्वपूर्ण माध्यम पनि भएको बताइन् ।
उनले भनिन्,‘प्रस्तुत किताब साहित्यिक चेतको निरन्तरता हो । साहित्य समाजको दर्पण मात्र होइन । राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणको लागि महत्त्वपूर्ण माध्यम पनि हो । साहित्य कलात्मक सुन्दर र आदर्श अभिव्यक्ति मात्र नभएर विचारको सम्वाद समेत हो । सामाजिक आर्थिक रूपान्तरणको अभियानमा लागेका राजनीतिक कर्मीहरुद्धारा गरिने साहित्य सृजनापनि अन्ततः सामाजिक परिवर्तन कै अभियानलाई थप बल पुर्याउछ ।’
त्यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किएर कसैको बन्ने भन्दा पनि सामाजिक परिवर्तनको नायक बन्न सुझाव दिए । यदि कसैले शीतल निवासबाट निस्केको पूर्व राष्ट्रपति के गर्नुपर्छ भन्यो भने देशको सामाजिक अभिभावक बन्नुपर्ने धारणा राख्ने उनले बताए ।
उनले भने,‘राजनीतिमा आउन चासो राखेको हो कि भन्ने कुरा पनि आउँछ । पूर्व राष्ट्रपतिले के गर्ने भनेर कसैले सोध्यो भने मेरो सुझाव सामाजिक रूपान्तरणको प्रेरकको रूपमा रहनुपर्छ भन्ने छ । तर राजनीतिमै फेरि आउन चाहनु भएको हो कि भन्ने चर्चा छ । यदि कसैले सोध्छ तिम्रो देशको शीतल निवासबाट निस्केको पूर्व राष्ट्रपति के गर्नुपर्छ भन्यो भने मैले सामाजिक अभिभावक यो देशलाई चाहिएको छ । ताकि कुनै आमाहरूले पीडा सहन नपरोस् । राजनीतिमा लागेर कसैको मात्र बन्ने पनि सुविधा छ । राजनीतिभन्दा पर अर्थात् माथि सामाजिक परिवर्तनको नायक बन्न जरुरी पनि छ ।’








