मार्क्सवाद कहिले पुरानो हुँदैन : नेता गजुरेल
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सिपी गजुरेलले मार्क्सवाद कहिले पुरानो नहुने बताएका छन् ।
शुक्रवार वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय सम्मेलनमा बोल्दै नेता गजुरेलले समस्याहरूबाट अगाडि बढ्दै मार्क्सवादले सबै कुराको विकास गर्ने बताएका हुन् ।
उनले भने, ‘हामीले यत्रो लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा जुन विश्वास गरेर आयौँ र त्यसमा चाहिँ समस्याहरू उत्पन्न भएका छन् ठिक हो । यहाँ धेरै कुरा सही ढङ्गले अगाडि बढेका छैनन् । कम्युनिस्ट क्रान्ति भनेको उतार चढावको बिचबाट अगाडि बढ्ने कुरा हो ।’
उनले समस्या पर्यो भन्दैमा विचार छाड्न नहुने बताए।
‘ यो सिँधा रेखामा अगाडि बढ्दैन । दायाँ बायाँ हुँदै अगाडि बढ्छ । कठिनाइहरू, समस्याहरू सैद्धान्तिक क्षेत्रमा र अन्य क्षेत्रमा समेत समस्याहरू पर्छन् । समस्या पर्यो भनेर छोडेर जानु हुँदैन । यस्तै गरेर हाम्रो मार्क्सवादको कुरामा यो कहिले पुरानो हुँदैन । यसले हरेक क्षेत्रमा विकास गर्छ ।’
साथै उनले देशमा क्रान्ति हुँदा पनि जनताले चाहेको कुरा पूरा गर्न नसक्दा जनतामा निरासा छाएको बताए । उनले लोकतन्त्र र गणतन्त्रले जनताका समस्या कहिँकतै नगरेको बताए ।