एलिजाबेटाउनमा प्रहरीद्वारा गराइएको गोलीकाण्ड जायज
पेन्सिल्भेनिया । ल्यानक्यास्टर काउन्टी जिल्ला न्यायाधीशको कार्यालयले यसै महिनाको शुरुमा भएको गोलीकाण्डलाई कानुनसम्मत ठहर गरेको छ ।
ल्यानक्यास्टर काउन्टी जिल्ला न्यायाधीश हीथर एडम्सले प्रहरी अधिकारीको कार्यलाई जायज ठहर गरेकि हुन् । उनले ‘यो घटना प्रस्ट देखाउँछ कि वार्डको कार्यले सबैलाई गम्भीर खतरा उत्पन्न गर्यो । यस्तो अवस्थामा प्रहरीलाई आफ्नो जीवन र अरूको जीवन जोगाउन कुनै पनि साधन प्रयोग गर्न पूर्ण अधिकार छ ।’
एलिजाबेटाउन पेन्सिल्भेनियामा नोभेम्बर २ मा मादपदार्थ सेवन गरेका ३९ वर्षीय एन्ड्रयु वार्ड भन्ने ब्यक्तिले पहिला राइफल निकालेर प्रहरीमाथि जाइलाग्ने प्रयास गरेका बेला प्रहरीले गोली चलाउँदा ज्यान गएको थियो । उनको नोभेम्बर ३ मा मृत्यु भएको थियो ।
घटना कसरी भयो ?
नोभेम्बर २, शनिबार राति करिब १० बजे, वार्डलाई माउन्ट जोय टाउनसिपको एलिजाबेटाउन रोडमा मादक पदार्थ सेवन गरी गाडी चलाएको आरोपमा पक्राउ परेका थिए । त्यसबेला उनको परिक्षण गर्दा रगतमा मादक पदार्थको मात्रा (बीएसी) ०.२२९ थियो । पक्राउका क्रममा वार्डले असहयोग गरेपछि उनलाई जमिनमा लडाएर नियन्त्रणमा लिनुपरेको थियो । पक्राउपछि वार्डलाई उनकी पत्नीलाई जिम्मा लगाउँदै राति ११ बजे नै छाडिएको थियो ।
तर, वार्ड पुनः राति साढे १ बजे प्रहरी चौकीमा आएर आफ्नो टुटेको चस्माको भाग फिर्ता गर्न माग गरेका थिए । प्रहरी चौकी बाहिरको पार्किङ क्षेत्रमा वार्ड र एक प्रहरी अधिकारी बीच विवाद भएको थियो ।
वार्ड आफ्नो चस्माको एउटा भाग हराएको भन्दै प्रहरीसँग आक्रोशित थिए । प्रहरी अधिकारीले सो टुटेको भाग र चस्मा पहिले नै फिर्ता गरिएको जानकारी दिए पनि वार्डले अस्वीकार गरेका थिए । वार्डलाई मादक पदार्थ सेवन गरी गाडी चलाएको आरोपमा पुनः पक्राउ गरिने प्रहरीले चेतावनी दिए र शान्त पार्नका लागि अर्का प्रहरीलाई पहिलाकाले बोलाएका थिए ।
शान्त हुनुको साटो वार्डले आफूसँग भएको हतियार निकालेर देखाएपछि प्रहरीले आत्मसुरक्षाका लागि गोली चलाएका थिए । त्यतिबेला प्रहरीले ८ राउन्ड गोली चलाउँदा चार पाँच गोली वार्डलाई लागेर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो । घटनापछि प्रहरीले वार्डको कारबाट एम–४ सेमि अटोमेटिक राइफल, दुईवटा थप लोडेड पिस्तोल र १ हजार भन्द्या गोली बरामद भएको थियो ।















