केसी र शर्मा समूहले ‘एनआरएन डे’ छुट्टाछुट्टै मनाउँदै

काठमाडौं । विदेशमा बस्ने नेपालीहरुको हकहितका लागि स्थापना भएको गैर आवासीय नेपाली संघ एनआरएनए अहिले आन्तरिक विवादमा बस्दै विभिन्न समूहमा विभाजित जस्तै छ ।
रुपमाले एकले अर्काको अस्तीत्व स्वीकार नगर्दा अहिले एनआरएनको विषय अदालतमा विचाराधिन रहेको छ भने आधिकारिकताको लडाईंले पछिल्ला बर्षहरु खेर गइरहेका छन् । सन् २००३ को अक्टोबर ११ मा स्थापना भएको एनआरएनको शुक्रबार ‘एनआरएन डे’ परेको छ ।
तर, डा. बद्री केसी समूह र आरके समूहले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदै छन् । बद्री केसी समूहले एनआरएनए डेमा पशुपति र स्वयम्भू मन्दिरमा पूजा तथा अन्य विविध कार्यक्रमहरू आयोजना गरेको छ ।
यसैगरी शर्मा समूहले यस वर्ष एनआरएनए डे जुममार्फत विश्वभरका नेपालीलाई जोडेर मनाउने योजना बनाएको छ ।
एनआरएनएको स्थापना सन् २००३ मा ‘नेपालीका लागि नेपाली’ भन्ने नारासहित विश्वभरि रहेका नेपालीलाई एकतामा बाँध्ने उद्देश्यले गरिएको थियो । हाल यस संस्थाका विश्वका ८७ देशमा शाखाहरू रहेका छन् ।