ओहायोको रेनल्ड्सबर्ग सिटीमा दसैँ तिहार मेला
विष्णु लुइँटेल र हरि काफ्ले
संयुक्त राज्य अमेरिका। नेपालीहरूको महान् चाड दसैँ र तिहारको सुखद उपलक्ष्यमा अमेरिकाको ओहायो राज्य अन्तरगत रेनल्ड्सबर्ग सिटीमा विविध सांस्कृतिक कार्यक्रमहरूका साथ यही ५ अक्टोबर २०२४ का दिन एक विशाल कार्यक्रमको आयोजना गरी सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बहुभाषिक, बहु सांस्कृतिक र बहु जातीय परम्परागत सांस्कृतिक कार्यक्रमहरू सभ्य र भव्य रूपमा प्रदर्शन गरिए। कार्यक्रमको उद्घाटन वैदिक मन्त्रोच्चारण र दीप प्रज्वलन गरी सुरु भएको थियो। यस कार्यक्रमका प्रमुख अतिथि सिटी अफ रेनल्ड्सबर्गका मेयर जो बेगनी र सिटी काउन्सिल सदस्य भुवन प्याकुरेलले दीप प्रज्वलन गर्नुभएको थियो भने गुरु स्वामी श्रीभगवतभूषण वासुदेबशरण , गुरु नारायण शरण र गुरु श्री नारायण शाण्डल्यले वैदिक मन्त्रोच्चारण गर्नुभएको थियो।
ओहायोको रेनल्ड्सबर्ग सिटीमा सन् २०२१ बाट प्रत्येक वर्ष यस किसिमका सांस्कृतिक कार्यक्रमहरू दसैँ-तिहार मेलाका नाममा प्रस्तुत हुँदै आएका छन्। उक्त कार्यक्रमलाई थप रोचक बनाउन विभिन्न परेड र झाँकीहरू प्रस्तुत गरियो। ससाना बहिनीहरूले दीप र कलश बोकेर परेडमा भाग लिएका थिए। हामी नेपाली भाषी भुटानीहरूको ऐतिहासिक यस कार्यक्रमलाई यी झाँकी र परेडले थप जीवन्त बनाएको थियो।
परेडमा मानव धर्म सेवा समिति, विश्वकर्मा समाज, गुरुङ समाज, किरात समाज, श्री वैष्णव परिषद्, स्थानीय व्यापारी, र गैर-लाभकारी सङ्घहरूले भाग लिएका थिए। सङ्गीत, कला, साहित्य, र सांस्कृतिक कार्यहरूले हामीलाई विविधतामा एकता बनाउँछन्। समाजमा यसले उमङ्ग, खुसी, शान्ति, र भाइचाराको प्रतिनिधित्व गर्दछ। यस विविधतामा रहेको एकता कार्यक्रमले हाम्रो समाज कसरी गोलबद्ध छ भन्ने स्पष्ट परिचय दिएको छ। जसको नेतृत्व सिटी काउन्सिल सदस्य निर्वाचित प्रतिनिधि भुवन प्याकुरेलले गरेका थिए।
यस पटकको कार्यक्रम निरन्तर चौथो पटकको रूपमा सम्पन्न भएको हो। यस्ता सांस्कृतिक कार्यक्रमहरूले हामी भुटानबाट लखेटिएका नेपाली भाषी अमेरिकनहरूको र विश्वभर जुनसुकै मुलुकमा पुनर्वासित भए पनि आफ्नो अस्तित्व र पहिचानलाई निरन्तर कायम राख्नेछन्। भाषिक रूपमा पनि यसले हाम्रो जातीय पहिचानलाई जीवन्त राख्ने आशा सबैमा पलाएको छ। विभिन्न जात-जाति र भासाभासीहरूले सामूहिक रूपमा मनाउने हाम्रो जातीय पहिचानको मेरुदण्ड दसैँ-तिहार कार्यक्रमले हाम्रा वृद्ध बाबाआमा, युवा पुस्ता, र बालबालिकाहरूलाई खुसी दिएको छ।
कार्यक्रमका प्रमुख अतिथि रेनल्ड्सबर्गका मेयर जो बेगनीले सबै उपस्थित जनसमुदायलाई धन्यवाद दिनु भयो । उहॅाले अगाडि थप्नुभयो -“आजको समयमा, जब मानिसहरू अमेरिकी हुनुको अर्थ के हो भनेर प्रश्न गर्छन्, मैले यस स्थानमा देखेको कुरा भनेको नयाँ अमेरिकीहरू एकसाथ आएर संस्कृतिलाई अँगाल्दै विविधतालाई मनाइरहेका छन्। यो नै हाम्रो वास्तविकता हो, र म सम्मानित महसुस गरिरहेको छु कि तपाईँहरूले रेनल्ड्सबर्ग सहरलाई आफ्नो घरका रूपमा रोज्नुभएको छ।
यससँगै, म यो घोषणा प्रस्तुत गर्न चाहन्छु , जहाँ दीपावली प्रकाशको पर्व हो, जुन संसारभरि अरबौँ हिन्दु, जैन र सिखहरूले असत्यमाथि सत्यको विजयको रूपमा मनाउँछन्। जहाँ परिवारहरू परोपकार, दान, विशेष पर्वको खानासँग उत्सवका कपडा लगाएर, पटाका र तेलका बत्तीहरू बालेर उत्सव मनाउँछन्। जहाँ ज्ञानको माध्यमबाट अज्ञानता, नकारात्मक गुणहरू, हिंसा, क्रोध, डाह, लोभ, डर वा दुःखको विनाशलाई सङ्केत गर्न बत्ती बालिन्छ। जहाँ दीपावली मानिसहरूको परोपकारी कार्यहरू र आत्म-सेवाको माध्यमबाट सेवा गर्ने अवसर हो। यस समयको ज्ञान, शिक्षा, पोषण र आश्रयको प्रकाशले भोक, रोग र गरिबी जस्ता दुःखका वास्तविक रूपहरूलाई कम गर्न मद्दत गर्छ।
रेनल्ड्सबर्ग सहर हाम्रो हिन्दु-अमेरिकी मित्र र परिवारहरूको सामाजिक, सांस्कृतिक र आर्थिक योगदानलाई गर्वका साथ अँगाल्छ, जसले हाम्रो समुदायको विविधता र जीवन्ततामा थप योगदान पुर्याउँछ। हामीले यस पर्वको सहिष्णुता, करुणा, र अरूलाई स्वीकृत गर्ने सन्देशलाई मान्यता दिनु पर्छ र यो शान्ति, खुसी र आशाको समयको मूल्याङ्कन गर्नुपर्छ।
म, जो बेगनी, रेनल्ड्सबर्ग, ओहायो सहरको मेयर, यहाँ २०२४ लाई दीपावली – प्रकाशको पर्वको रूपमा घोषणा गर्दछु। फेरि यहाँ आउनुभएकोमा धन्यवाद र सबै मिलेर हाम्रो विविधतालाई उत्सवको रूपमा मनाऔँ।”
यस कार्यक्रमलाई थप जीवन्त बनाउन तामाङ समाज ओहायोबाट नेपाली गीत गाएर गरिमा बढाइएको थियो। यसैगरी गुरुङ समाज ओहायोबाट गुरुङ गीत प्रस्तुत गरियो। मानव धर्म सेवा समितिको तर्फबाट ‘बोक्सीको घर’ गीत प्रस्तुत गरियो। किरात समाज ओहायोबाट च्याब्रुङ नृत्य प्रस्तुत गरियो। हिन्दु विश्वकर्मा समाजबाट मारुनी नाच प्रस्तुत गरियो। हामीले परापूर्व कालदेखि चलाउँदै आएका पञ्चेबाजाले कार्यक्रमलाई अझ रोचक बनाएको थियो। करिब १० हजार मानिसहरूलाई उक्त बाजाले प्राङ्गणभरि नचाएको थियो। पञ्चेबाजाले हाम्रा बिहे, व्रतबन्ध, र अन्य शुभ कार्यहरूमा विशेष महत्त्व राख्छ। यसले हाम्रा वृद्ध वृद्धा , युवायुवती, र बालबालिकाहरूलाई स्वतः नचाउँछ।पिट्सबर्ग, पेन्सलभेनियाबाट आएको पञ्चेबाजा समूहले कार्यक्रमलाई थप रौनक दिएको थियो । जसका लागि उनीहरूलाई विशेष धन्यवाद दिनै पर्छ। साथै, कोलम्बस ओहायोबाट ब्यान्ड बाजा पनि निम्त्याइएको थियो। कोलम्बसका ब्यान्ड बाजा वाद्य वादकहरूले कार्यक्रममा आकर्षण थपेका थिए।
उक्त कार्यक्रमका विषयमा भुवन प्याकुरेल भन्छन् —“यो हामीले मनाएको दशै-तिहार चाडपर्व विश्वभर रहेका हिन्दु र मुख्य गरी नेपालीहरूका निम्ति सबै भन्दा ठुलो चाड हो । यस पर्वले हामी सबैलाई एक ठाउँमा ल्याउँछ र मजबुत पनि बनाऊ छ ।सन् १९९० को दशकमा भुटानी राजाले जुन हाम्रो संस्कृति माथि प्रहार र प्रतिबन्ध गरेको थियो आज हामीले दशकौँ पछि अमेरिकामा खुसीका साथ मनाउन पाएका छौँ ।मलाई लाग्छ हामीले राष्ट्र र राष्ट्रियता प्रति बफादार हुन आफ्नो संस्कार संस्कृतिलाई त्याग्न आवश्यकता छैन । हामी अमेरिकन भईकन पनि आफ्नो संस्कृति र चाडपर्वहरू खुलेर मनाएका छौँ । अमेरिकन हुनुको गौरव यसैमा पाइन्छ । हामीले हाम्रो जरोकिलाको प्रमाण भुटानको राष्ट्रिय झन्डा र हामी आज कहाँ छौ भन्ने प्रमाण अमेरिकन झन्डा साक्षीका रूपमा फरफराएका छौँ । भुटान सरकारले यसलाई गौरवका रूपमा लिनु पर्छ र यो उसका लागि हाम्रा तर्फबाट गतिलो पाठ पनि हो”।
“यस कार्यक्रमलाई यो उचाइमा पुऱ्याउन समाजसेवी श्याम गौतमको ठुलो योगदान रहेको छ । यसै कारण उहाँको योगदानको कदर स्वरूप मैले सम्मान गरेको हुँ । यसका साथै यस महान् कार्यलाई सफलता पूर्वक सम्पन्न गराउन जे जति खर्च भयो यो सबै भुटानी व्यवसायी , शुभचिन्तकहरूको आर्थिक सहयोगमा सम्पन्न भएकोमा म उहाहरु सबैलाई विशेष धन्यवाद दिन्छु “-भुवनले थप्नु भयो ।
यस्ता सांस्कृतिक कार्यक्रमहरू, विभिन्न नाचगान र वाद्यवादनहरू हामी नेपाली भाषीहरूको उच्च स्वाभिमानका विषयहरू हुन्। यस्ता सांस्कृतिक कार्यहरू अमेरिका र अन्य मुलुकहरूमा, जहाँ जहाँ नेपाली भाषी र विशेष गरी नेपाली भाषी भुटानीहरू छन् ती सबै स्थानमा मनाउनु नितान्त आवश्यक छ। हामी नेपाली भाषी भुटानीहरूलाई भुटानबाट जबरजस्ती निकाला गर्दा पाएको पीडा र आज तेस्रो देशमा पुनः स्थापित हुँदा मनाउने हाम्रा चाडपर्वहरूले भुटानको क्रूर सरकारलाई गतिलो झापड हानेको छ भने हाम्रो पुर्खाको गौरव र हाम्रो शिरलाई उच्च राखेको छ ।
उक्त कार्यक्रममा १४०० भन्दा बढी गाडीको पार्किङ सुविधा थियो तर त्यसले मेलामा आउने मानिसहरूका लागि पर्याप्त नभएर खुल्ला चौरमा समेत त्यति नै सङ्ख्यामा गाडी पार्किङ गरिएका थिए । उक्त मेलामा पन्ध्र हजार भन्दा माथिको जनसहभागिता रह्यो । जुन सुरक्षार्थ खटिएका प्रहरीले दिएको तथ्याङ्क हो।
यस गौरवमय सांस्कृतिक मेलाका अरू अतिथिहरूमा यूएस रिप्रेजेनटेटिभ प्रतिनिधि ,सिटी एटोर्नी कृश सुक,अडिटर सिस्याक, काउन्सिल मेम्बर लुइस सेलभेटी, सिटी काउन्सिल मेलड्रेड जोनसन र स्टेसी बेकरको उपस्थिति थियो ।
यस मेलालाई थप सहज र सुविधा बनाउन रेस्टुरेन्ट ब्यावसायीहरुले विभिन्न प्रकारका खाजा र खाने परिकारको व्यवस्था गरेका थिए । उक्त गरिमामय कार्यक्रमको उद्घोषणद्वय श्याम गौतम र राधा प्रियाले गरेका थिए ।
त्यो भावुकताको आँसु थियो वा गोहीको ?
October 24, 2024 @ 11:17 pm
[…] ओहायोको रेनल्ड्सबर्ग सिटीमा दसैँ तिह… 0SHARESShareTweet […]