बौद्धस्तुपा र पशुपतिमा पूजा गरेर ‘एनआरएनए डे’ मनाइयो
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को डाक्टर बद्री केसी समूहले २१औं एनआरएनए डे उत्साहका साथ मनाएको छ।
“समृद्ध नेपालको परिकल्पनालाई सार्थक बनाउन” भन्ने नारासहित मनाइने यो दिवस विश्वभर रहेका गैरआवासीय नेपालीको योगदानलाई सम्मान गर्ने उद्देश्यले हरेक वर्ष अक्टोबर ११ तारिखमा मनाइन्छ। यस अवसरमा, नेपाली समाजमा रहेको आर्थिक, सामाजिक, र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन र नेपाल विकासमा सबै गैरआवासीय नेपालीहरुको ज्ञान, सीप, र पुँजीलाई उपयोग गर्न सकिने कुरामा चर्चा गरियो।
गैरआवासीय नेपाली संघको स्थापना सन् २००३ मा “नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ गरिएको थियो, र आज संघ ८६ भन्दा बढी देशमा सक्रिय छ। एनआरएनएले यो दिवसलाई नेपाल र विश्वभर रहेका नेपालीहरुको ठूलो पर्वको रूपमा मनाउने परम्परा स्थापित गरेको छ।
यस अवसरमा संघले अक्टोबर महिनाभरि विभिन्न परोपकारी र संस्थागत गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएको छ। केसी समूहले मुख्य समारोह र वार्षिक साधारणसभा भने यही अक्टोबर २७ र २८ तारिखमा काठमाडौंमा आयोजना हुनेछ। यस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, अन्य मन्त्रीहरु, तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
केसी समूहले २१औं एनआरएन डे को अवसरमा आज बिहान काठमाडौंस्थित बौद्धनाथ स्तूप र पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरियो। बिहान ७ बजे आयोजित यस कार्यक्रममा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, वर्तमान अध्यक्ष डा. बद्रि केसी, संघका अन्य प्रमुख पदाधिकारीहरु, तथा गैरआवासीय नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता थियो।
पूजा सम्पन्न भएपछि एनआरएनएको केन्द्रीय सचिवालयमा एनआरएनए झन्डोत्तलन समारोह सम्पन्न भयो। झन्डोत्तलन समारोहमा डा. महतो र डा. केसीले सम्बोधन गरे ।
डा. केसीले आफ्ना मन्तव्यमा विश्वभर रहेका गैरआवासीय नेपालीहरूप्रति सम्मान प्रकट गर्दै, उनीहरुले नेपालका लागि प्रदान गर्दै आएका योगदानको प्रशंसा गरे। उनले नेपाललाई आर्थिक समृद्धिको मार्गमा अघि बढाउन एनआरएनएले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने विश्वास व्यक्त गरे ।
उनले वर्तमानमा संघले सञ्चालन गरिरहेको परियोजनाहरुबारे जानकारी दिँदै, आगामी दिनहरुमा अझ धेरै ठूला परियोजनाहरु सञ्चालन गर्ने योजनाहरु रहेको बताए।
डा. उपेन्द्र महतोले पनि समारोहमा, गैरआवासीय नेपालीहरुको एकता र सहकार्यले नेपाललाई अझ धेरै योगदान गर्न सकिने कुरा बताए। उनले एनआरएनएको स्थापना कालदेखि अहिलेसम्मको यात्राको चर्चा गर्दै, यसले पाएको सफलताको लागि सम्पूर्ण गैरआवासीय नेपालीहरुको साथ र समर्थनको प्रशंसा गरे ।उनले “नेपालीका लागि नेपाली” भन्ने नारालाई अझ प्रभावकारी बनाउन सबैले हातेमालो गर्नुपर्ने कुरामा जोड दिए।
यसका साथै, एनआरएनएले अक्टोबर महिनाभर विभिन्न परोपकारी कार्यक्रम, रक्तदान, शैक्षिक सहायता, र अन्य सामाजिक गतिविधिहरू पनि सञ्चालन गर्ने योजना बनाएको छ।