हनुमानढोकाको दशैँ घरमा फूलपाती भित्र्याइयो
काठमाडौं। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वको अवसरमा घर-घरमा शुभ साइतको प्रतीकका रूपमा फूलपाती भित्र्याउने परम्परा अनुसार यस वर्ष पनि काठमाडौंको हनुमानढोकाको दशैँघरमा फूलपाती भित्र्याइएको छ।
गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती विशेष महत्वको छ। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि नै यो परम्परा चल्दै आएको हो। गोरखाबाट फूलपातीसहितको डोली दरबारका सुसारेहरूले सतिपिपलस्थित फूलपाती चौतारासम्म ल्याएर त्यसपछि हनुमानढोकामा पुर्याइन्छ।

गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले फूलपाती ल्याउने परम्परा रहेको छ। जीवनपुरबाट काठमाडौँको जमलसम्म भने ब्राह्मण जातिका छ जनाले फूलपाती ल्याउने गर्छन्, हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।
जमलदेखि हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करले फूलपाती ल्याइएको थियो। यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको खनालले बताए।

हनुमानढोका दरबारको नासलचोकमा पूजा र मूलचोकमा बलिसहितको पूजा गरेपछि दसैँघरमा फूलपाती भित्र्याइन्छ। राजतन्त्रकालमा राजाको उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापना भएपछिको परम्पराअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले फूलपाती भित्र्याउने कार्यक्रमको नेतृत्व गर्दै आएका छन्। यस वर्ष पनि संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे फूलपाती भित्र्याउने कार्यक्रममा सहभागी भएका थिए।
हनुमानढोका दशैँघरका मूल पुजारी देवराज अर्यालका अनुसार घटस्थापनादेखि दुर्गा देवीको वैदिक विधिपूर्वक आह्वान गरिन्छ र सप्तमीका दिन फूलपाती भित्र्याइन्छ। फूलपातीलाई नवदुर्गाका प्रतीकका रूपमा नवपत्रिका पनि भनिन्छ। यसमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल लगायतका पालुवाहरू समावेश गरिन्छ, जुन शक्तिको प्रतीक मानिन्छ। दसैँ अर्थात् दुर्गा पूजाको सामाजिक चहलपहल फूलपातीको दिनदेखि अझै बढी देखिन्छ।

यसैगरी, हनुमान ढोकाको दसैं घरमा फूलपाती भित्र्याउनु अघि सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाई समारोह सम्पन्न भएको छ। यस समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति समेत रहेका रामचन्द्र पौडेलको उपस्थिति रहेको थियो।

समारोहको सुरुवातमा नेपाली सेनाको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो। त्यसपछि, बढाइँ टोलीले राइफलबाट लहरे, एकट्ठा र नेपालको नक्साको आकृति बनाई बढाइँ गरे। साथै, तोपबाट समेत बढाइँ गरिएको थियो। नेपाली सेनाका विभिन्न युनिटहरूद्वारा मार्च पास प्रदर्शन गरियो, जसमा गोरखाबाट ल्याइएको फूलपाती विशेष हर्षबढाइँसहित प्रस्तुत गरियो। दुर्गा नाच, सेनाको ब्याण्डबाट मालश्री धुन, र दुर्गा भजनहरूको समिश्रणले समारोहलाई सांस्कृतिक रंगमा सजाएको थियो।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक अङ्गका प्रमुखहरू, जनप्रतिनिधिहरु, नेपाल सरकारका सचिवहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, पूर्व प्रधान सेनापतिहरू, काठमाडौँस्थित कुटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरु, सञ्चारकर्मीहरू र सर्वसाधारणको समेत उपस्थिति रहेको थियो।



















