फ्लोरिडामा आँधी ‘मिल्टन’ को वितण्डा: चार जनाको मृत्यु
|
तपाइले यो समाचार यहाँ सुन्न पनि सक्नु हुन्छ:
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया। फ्लोरिडामा “मिल्टन” नामक आँधीले विनाशकारी प्रभाव छाड्दै कम्तिमा चारजनाको ज्यान लिएको छ र धेरै घरहरू ध्वस्त भएका छन्। फ्लोरिडाको तटीय क्षेत्र हुँदै “मिल्टन” आँधीले १२ भन्दा बढी टोरनाडो उत्पन्न गरेको र त्यसले व्यापक क्षति पुर्याएको हो।
फ्लोरिडाका गभर्नर रोन डिस्यान्टिसले भनेका छन् कि आँधीले राज्यभर ठूलो क्षति पुर्याए पनि अपेक्षाअनुसार समुद्री तुफानले ठूलो क्षति भने गरेन। टाम्पा बे क्षेत्रले अनुमान गरिएको समुद्री लहरबाट बच्न सफल भएको छ, जसले गर्दा स्थानीय बासिन्दालाई ठूलो राहत मिलेको छ।
स्ट. लुसी क्षेत्रको स्प्यानिश लेक्स समुदायमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य दुईजनाको मृत्युको कारण अझै खुल्न बाँकी छ। टोरनाडोले त्यहाँ १०० भन्दा बढी घरहरू ध्वस्त पारेको छ।
बुधबार राति आँधीको कारण फ्लोरिडामा १९ वटा टोरनाडो देखा परेको थियो। यसैगरी, फ्लोरिडाका ३० लाखभन्दा बढी घर र व्यवसायमा विद्युत आपूर्ति ठप्प भएको छ, जबकि दुई हप्ताअघि आएको हुर्रिकेन “हेलन” का कारण केही ठाउँहरूमा अझै पनि बिजुली नआएको छ।
“मिल्टन” आँधी बुधबार राति फ्लोरिडाको पश्चिमी तटमा १२० माइल प्रति घण्टाको गतिमा क्याटेगोरी ३ आँधीको रूपमा प्रवेश गरेको थियो। आँधीको केन्द्र सिएस्टा की नजिकैको सारासोटा क्षेत्रबाट भू-भागमा प्रवेश गरेको हो। आँधीले १,२५ घरहरू ध्वस्त पारेको र राज्यभर उद्धार टोलीहरू परिचालन गरिएको जानकारी प्राप्त भएको छ।
फ्लोरिडाका विभिन्न विमानस्थलहरू बन्द छन् भने २२०९ उडानहरू रद्द भएका छन्।














