न्यु योर्कमा हुने आईएमए कराते च्याम्पियनसिप सफल बनाउन समुदायमा आयोजकको अपिल

न्यु योर्क/ “आईएमए कराते च्याम्पियनसिप न्यु योर्क २०२४” आयोजकले यसलाई व्यापक सफल बनाउन समुदायमा अपिल गरेको छ।
च्याम्पियनसिप आगामी डिसेम्बर आठ तारिख न्यु योर्कको क्विन्समा आयोजना हुँदै छ।
च्याम्पियनसिप आईएमए निहोन कराते डो युएसएले आयोजना गर्न लागेको हो। यस डोका संचालक तथा प्रमुख प्रशिक्षक सिहान शान्त थोकर हुन्। उनी अमेरिकामा कराते स्कुल स्थापना गर्ने पहिलो नेपाली हुन्। उनले १७ वर्ष अगाडि न्यु योर्कमा स्कुल स्थापना गरेका थिए। उनी युएस करातेबाट दोहोरो रेफ्री लाइसेन्स प्राप्त व्यक्ति हुन्।
आइतबार क्विन्समा आयोजित पत्रकार सम्मेलनमा थोकरले च्याम्पियनसिप नेपालीको पनि गौरभ भएकाले त्यसलाई सफल बनाउन समुदाय सँग अपिल गरे।
उनले न्यु योर्कमा हुँदै आएका च्याम्पियनसिप भन्दा पृथक् बनाउन खोजिएको र त्यसमा पनि नेपाली आथित्यता देखाउन चाहना भएको बताए।
‘न्यु योर्कमा थुप्रै प्रतियोगिता हुन्छन्, तपाईँहरू पनि जानु भएको छ, व्यवस्थापन चुस्त होस भन्ने छ,ऐतिहासिक होस, ओ हो नेपालको मान्छेले यस्तो प्रकारको च्याम्पियनसिप गरेको थियो भन्ने होस भन्ने हो।’ पत्रकार सम्मेलनमा थोकरले भने।

उनले आफूले इतिहास बनाउन लागेको पनि बताए। ‘इतिहास बनाउन खोजिएको हो, सबैले गरेका छन् उहाँहरूले पनि गरेका छन्, उहाँहरूको भन्दा कसरी पृथक् बनाउने भन्नका लागि मलाई समुदायको सहयोग चाहिन्छ।’
पत्रकार सम्मेलनमा सिहान थोकरले आर्थिक वा स्वयम सेवकको रूपमा समुदायले सहयोग गर्न सक्ने प्रस्टाए।
‘म कर्ता हुँ, १७ वर्ष देखि म नेपाल चिनाउँदै हिँडिरहेको छु, विश्वमा म जहाँ गए पनि नेपालको हो भनेर चिन्छन्, मैले एउटा नेपाल बोक्ने हो, म कर्ता हो यसलाई सफल बनाउन तपाईँहरूको सहयोग चाहिन्छ।’ थोकरले भने।
पत्रकार सम्मेलनमा जनाइए अनुसार काता र कुमुतेमा एक सय ३२ इभेन्टमा एक सय ३२ स्वर्ण पदक एक सय ३२ रजत र २ सय ६२ काश्य पदक गरी कुल पाँच सय २८ पदकका लागि प्रतिस्पर्धा हुने छ।
यस्तै तीन वटा ट्रफी पनि प्रदान गरिने छ। ग्राण्ड च्याम्पियनले १४ सय डलर समेत पाउने छन्।
पत्रकार सम्मेलनमा बोल्दै सिहान थोकरले न्यु योर्क ओपन चार वटा हुने गरेको तीन दशक भन्दा देखि नै न्यु योर्क ओपन हुँदै आएकोले सबैको सल्लाहमा नाम परिवर्तन गरी “आईएमए कराते च्याम्पियनसिप न्यु योर्क” राखिएको र यो अब हरेक वर्ष आयोजना हुने बताए।
सिहान थोकरका अनुसार च्याम्पियनसिपका लागि करिब ५२ हजार अमेरिकी डलर खर्च हुने छ।
पत्रकार सम्मेलनमा एनआरएनए अभियन्ता रबिन बज्राचार्य, प्रवीण केसी, पर्यटन दूत गोकुल श्रेष्ठ लगायतले च्याम्पियनसिपका बारेमा आ आफ्नो धारणा राखेका थिए।
पत्रकार सम्मेलनमा विश्व कराते महासंघको रेफ्रि सिहान रमन रिराल्डो, सहायक प्रशिक्षक मेइ लिङ्ग लगायतले च्याम्पियनसिपको शुभ कामना दिएका थिए।

र यो पनि..