पुर्व सभामुख ढुंगानाको अगुवाईमा संविधान संशोधनको वहस सुरु
काठमाडौँ । नेपालको संविधान २०७२ को पुनरावलोकनका लागि आजदेखि औपचारिक रुपमा बौद्धिक क्षेत्रबाट वहस सुरु भएको छ ।
पूर्व सभामुख दमननाथ ढुंगानाको अध्यक्षतामा रहेको संसदीय अध्ययन तथा विकास संस्थापनाको अग्रसरतामा आजदेखि औपचारिक रुपमा बौद्धिक बहस सुरु भएको हो ।
संसद दिवसको अवसर पारेर आजदेखि सुरु भएको बहस निरन्तर रुपमा सञ्चालन गर्ने संस्थापनाका उपाध्यक्ष तथा पूर्व मन्त्री दिपकुमार उपाध्यायले जानकारी दिनुभयो ।
उहाँका अनुसार दलका शिर्ष नेता, पूर्व प्रधानन्यायाधिश, पूर्व न्यायाधिश, सांसद, पुर्व सांसद, विज्ञ, कानुन विद्, सरोकारवालालगायतसँग श्रीङखलावद्ध रुपमा छलफल चलाउने तयारी भएको छ ।
संस्थापनाले आयोजना गरेको पहिलो कार्यक्रममा सहभागी सबैले संविधानको पुनरावलोकन आवश्यक रहेकोमा ऐक्वबद्धता जनाउदै प्रक्रियाका बारेमा भने फरक फरक सुझाव तथा रायहरु राखेका थिए ।
कार्यक्रमको सुरुमा संविधान सभा सदस्य तथा बरिष्ठ संविधानविद् राधेश्याम अधिकारीले पुनरावलोकनको आवश्यकता रहेका संवैधानिक व्यवस्थाहरुको सूची प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पूर्व कानुन मन्त्री तथा संविधान सभा सदस्य एमाले नेता अग्नी खरेल, संविधान सभा सदस्य किरण यादव, पूर्व सांसद रामनारायण विडारी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, काँग्रेस सांसद उदय शमसेर राणा, राप्रपा नेता निरन्जन थापा, प्राध्यापक कपिल श्रेष्ठ, बरिष्ठ पत्रकार किशोर नेपाल, बरिष्ठ अधिवक्ताहरु सम्भु थापा, डा चन्द्रकान्त ज्ञवाली, दिनेश त्रिपाठी, टिकाराम भट्टराई, रामकृष्ण निराला, रक्षा बस्याललगायतले संविधान संशोधनको आवश्यकता रहेकोमै जोड दिए ।
अधिकांशले संविधानका मुल विषयहरु लोकतन्त्र, गणतन्त्र, समानुपातिक र संघीयतालाई चलाउन नहुने र त्यसलाई थप प्रभावकारी बनाउने उपायहरु थप्नुपर्ने राय ब्यक्त गरे । सहभागी सबैको एउटै स्वर थियो, “संविधानमा केही समस्या छन्, तर त्यो भन्दा बढी समस्या यसको कार्यान्वयनकर्ताहरुमा छ ।, त्यसैले कार्यान्वयनकर्ताहरुलाई नै जिम्मेवार बनाउनेगरी संशोधन गरिनु पर्दछ ।”
कार्यक्रममा काँग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, एमाले सांसद रघुजी पन्त, पुर्व निर्वाचन आयुक्त विरेन्द्र मिश्र, पूर्व राजदूत सनिल नेपाललगायतको पनि सहभागीता रहेको थियो ।