कालु सिंह स्मृति फुटबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

ह्यारिसबर्ग/ कालु सिंह तामाङ स्मृति फुटबल च्याम्पियनसिपको खेल तालिका बुधवार सार्वजनिक गरिएको छ।
एशियन रेफ्युजी युनाइटेड ( एआरयु) को आयोजनामा च्याम्पियनसिपको आठौँ संस्करण जुन २२ र २३ तारिख अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा हुँदै छ।
ह्यारिसबर्ग स्थित एआरयुको हेड क्वाटरमा बुधवार साँझ प्रत्यक्ष प्रसारण मार्फत खेल तालिका सार्वजनिक गरिएको हो। च्याम्पियनसिपमा यस पटक नौ टिमले भाग लिने छन्।
आयोजक कमिटी सदस्य बिर्ख गुरुङका अनुसार सहभागी टिमलाई तीन समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइने छ।
‘लिग चरणमा हरेक समूहका शीर्ष दुई टिम नकआउट चरणमा पुग्ने छन्। नकआउट चरणमा पुगेका ६ टिमलाई पुन दुई समूहमा विभाजन गरिने छ। दुई समूह बिचमा एक आपसमा खेलाइने छ ती खेलका विजेता टिम सेमीफाइनमा पुग्ने छन्।’ खेल तालिका सार्वजनिक कार्यक्रममा सदस्य गुरुङले भने।
उनका अनुसार सेमीफाइनलमा एउटा टिमले वाइ पाएर सोझै फाइनलमा पुग्ने छ। बाँकी दुई टिम बिचको विजेता फाइनलमा पुग्ने छ।
‘नकआउट चरणको समूह विभाजन हामी सोही समयमा गर्ने छौ, हामीले खेल तालिका निष्पक्ष बनाएका छौ।’ गुरुङले भने ।
सार्वजनिक तालिका अनुसार समूह एमा ब्याल्क मम्बा, जर्जीया पीस स्टेट र एफसी टिमाइवल ह्यारिसबर्ग रहेका छन्। यस्तै समूह बीमा युनाइटेड भेट्रान्स युएसए, कोलम्बस भेट्रान्स ओहायो, ह्यारिसबर्ग भेट्रान्स एफसी रहेका छन्। समूह सीमा बेल्जियम भेट्रान्स, पिट्सबर्ग डाइनामो भेट्रान्स र सिनसिनाटी राइनो रहेका छन्।

च्याम्पियनसिपमा ४५ वर्ष माथि उमेर समूहले खेल्ने छन्।
खेल तालिका सार्वजनिक कार्यक्रममा आयोजक कमिटीका अर्का सदस्य विनय लुइँटेलले यस पटक देखि च्याम्पियनसिपका सबै खेल सिटी आइल्याण्डमा रहेको स्काइल्याण्ड स्पोर्ट कम्पेल्समा हुने जानकारी दिए।
‘हामी च्याम्पियनसिपलाई स्तरीय बनाउने लक्ष्यमा छौ त्यही भएर खेल पनि राम्रो मैदानमा खेलाउने भएका हौ।’ लुइँटेलले भने।
उनले च्याम्पियनसिपका लागि चालिस हजार अमेरिकी डलर भन्दा बढी रकम संकलन भएको बताए।
‘बचत रकम हामी एआरयुले संचालन गर्दै आएको सकर फर सक्सेर कार्यक्रममा खर्च गर्ने छौ। एआरयुले संचालन गरेको कार्यक्रमलाई सहयोग गर्नु पर्छ, भाइबहिनीहरूलाई सहयोग गर्नु पर्छ, कालु सिंह जस्तै राम्रो खेलाडी उत्पादन गर्नु पर्छ।’ लुइँटेलले भने।
कार्यक्रममा आयोजक कमिटीका अध्यक्ष रत्न गुरुङले च्याम्पियनसिपमा सहभागी सबै टिमलाई शुभ कामना दिए। ‘ सबैलाई अग्रिम शुभकामना छ।’ खेल तालिका सार्वजनिक गर्नु अगाडि उनले भने।
च्याम्पियनसिपको विजेताले पाँच हजार र उप विजेताले तीन हजार डलर नगद पुरस्कार पाउने छन्। ट्रफी भने लगातार तीन पटक जित्नेले पाउने छन्।
‘हामी विजेतालाई सट्टा ट्रफी दिने छौ तर हरेक वर्षको विजेताको नाम मूल ट्रफीमा लेख्ने छौ। लगातार तीन पटक जित्नेले त्यो ट्रफी सदैका लागि लैजान पाउँछ।’