अमेरिकामा रहेका दोलखालीहरु संगठित, भोजराज थोकरको अध्यक्षतामा संस्था गठन
न्यु योर्क / नेपालको दोलखा जिल्ला स्थायी घर भई अमेरिकामा (न्यु योर्क) बस्दै आएका दोलखालीहरु संगठित भएका छन् । आपसी हित र विविध किसिमका सामाजिक कार्य गर्ने उद्देश्यले दोलखा समाज अमेरिका गठन भएको छ ।
गत आइतबार न्यु योर्कमा भएको भेलाले भोजराज थोकरको अध्यक्षतामा एघार सदस्यीय कार्यसमितिको घोषणा गरेको छ ।
समाजको उपाध्यक्षमा राजकुमार चौलागाई, सचिवमा भूपेन्द्र थापा, कोषाध्यक्षमा प्रकाश थापा र सदस्यहरूमा मोहनकृष्ण श्रेष्ठ, शान्त थोकर, तारादेवी चौलागाई, मनोज थोकर, शिव जिरेल, लादोर्जे लामा र सुवर्ण लामा रहेका छन्।
जिल्लावासीहरूबिच आपसी चिनजान र भाइचारा अभिवृद्धिका लागी नेपाली चाडपर्वहरूको अवसरमा भेला हुने र परेका बेला र अन्य समयमा पनि जिल्लामा सरसहयोगका कार्यक्रम गर्ने उद्देश्यले हाललाई न्यु योर्क क्षेत्रका साथीभाइ जम्मा भई औपचारिकता दिइएको र पछि सबै राज्यमा बस्ने दोलखालीलाई समेटिने अध्यक्ष भोजराज थोकरले बताए।
समाज गैर राजनीतिक र गैर नाफामूलक सामाजिक संस्थाको रूपमा रहने र ५०१ (सी) अन्तर्गत रहने पनि थोकरले जानकारी दिए।
उलेख्य मात्रामा लामो समय देखी अमेरिका बस्दै आएका भएता पनि दोलखालीहरु औपचारिक रूपमा संगठित हुन सकिरहेका थिएनन् । खास गरी खादामालाका लागी धेरै सङ्गठनहरू खुल्ने भीडमा यो थप एक संस्था हुने नभई आफ्नो जरासम्म जोडिनका लागी समाजको उपादेयता रहेको सचिव भूपेन्द्र थापाको भनाई छ ।