निर्वाचन समितिलाई मलाई हटाउने अधिकार छैन: बुद्धि प्रकाश वली

पेन्सिल्भेनिया/ नेपाली जनसम्पर्क समिति क्यानडाका निलम्बित अध्यक्ष बुद्धि प्रकाश वलीले आफूलाई हटाउन निर्वाचन समितिलाई अधिकार नभएको दाबी गरेका छन्।
विदेशको नागरिक भइसके पछि पनि नेपाली कांग्रेस महासमिति बैठकमा भाग लिएको बारेमा समाज टाइम्सले सप्रमाण समाचार प्रकाशित गरेको थियो। त्यस पछि नेपाली कांग्रेसको निर्वाचन समितिले वलीलाई कुनै पनि पदमा बस्न अयोग्य भन्दै बर्खास्त गरेको हो।
बर्खास्तिमा पछि समाज टाइम्स सँग कुरा गर्दै वलीले निर्वाचन समितिलाई आफूलाई हटाउने अधिकार नै नभएको प्रतिक्रिया दिए।
‘निर्वाचन समितिलाई यो अधिकार छैन, उसले त पार्टीलाई सिफारिस गर्ने हो, एकै पटक बर्खास्त गर्न मिल्दैन।’ टेलिफोन कुराकानीमा वलीले भने।
उनले आफू माथि अन्याय भएको भन्दै पार्टीमा अपिल गरेको बताए। ‘अन्तिम निर्णय पार्टीले गर्छ, मैले पार्टीमा अपिल गरेको छु।’ वलीले भने,’ पार्टीले के गर्छ हेरौँ।’
वलीले द्वन्दकालमा नेकपा माओवादीबाट मारिने डर आफूले देश छोडेको र क्यानडामा बसोबास गर्नका लागि नागरिकता लिएको दाबी गरे। ‘मेरो राजनैतिक पृष्ठभूमि सबैलाई थाहा छ, दाङमा मेरो राम्रै हैसियत छ, राजनीतिक आस्थाका कारण ज्यान जोगाउन म बिदेसिएको हुँ, यहाँ बसोबासलाई सहज बनाउन नागरिकता दिएको हुँ, म नेपालको जन्मसिद्ध नागरिक हुँ।’
उनले पार्टीले आफूलाई मौका दिनु पर्ने बताए। ‘माओवादीले मार्ने डरले म भागेर आए यहाँ बस्नका लागि कागज बनाए, अब म यताको त्याग्न पनि सक्छु, त्यो मौका पार्टीले दिएको छैन।’ वलीले भने,’ यो रिसिबी साधियो निर्वाचित अध्यक्षलाई हटाउने अधिकार निर्वाचन समितिलाई छैन ।’
वलीले पार्टीले न्याय नखिए विकल्प खोज्ने चेतावनी दिए। ‘म राजनीतिक व्यक्ति हुँ दाङमा मेरो राम्रो जनधार छ, मेरै कार्यसमितिमा भएका साथीले कांग्रेसका दीपक गिरी सँग चुनाव लड्दा १६ हजार मत ल्याएका छन् मलाई अफर नआएको पनि होइन, अब कांग्रेसले के गर्छ हेरौँ नत्र अरू पार्टी पनि छन् विकल्पमा।’
नेपालको संविधान र प्रचलित कानुनमा विदेशको नागरिकता लिएको व्यक्तिले नेपालमा राजनैतिक अधिकार पाउँदैन।