पेनाल्टीमा चुक्दा नेपाल वाफको उप विजेतामा सिमित
काठमाडौं । पश्चिम एसियाली वाफ च्याम्पियनसिपमा नेपाल उप विजेतामा सिमित भएको छ । साउदी अरेबियामा विहीबार राति भएको फाइनलमा प्रतियोगिताकै सर्वाधिक सफल टिम जोर्डनसँग टाइब्रेकरमा नेपाल स्तब्ध भएको हो । पहिलो पटक यो प्रतियोगिता खेलेको नेपाल फाइनलमा सावित्रा भण्डारी विनै मैदान उत्रिएको थियो ।
सावित्रा सेमिफाइनलसम्म खेलेर क्लब फुटबल खेल्न फ्रान्स फर्किए पछि उनी विनै मैदान उत्रिएको नेपाली टोलीले सुरुआती अग्रता लिए पनि जोगाउन असफल भयो । अन्त्यतिर एक गोलले पछि परेको नेपालले पेनाल्टीमार्फत बराबरी गर्दै खेल टाइब्रेकरमा लगेको थियो । जसमा नेपाल जोर्डनसँग ५–३ गोल अन्तरले पराजित हुँदै पहिलो उपाधि जित्ने लक्ष्य हासिल गर्न सकेन । नेपालले अहिलेसम्म ११ पटक फाइनल खेल्दा एक पटक पनि उपाधि उचाल्न सकेको छैन ।
जोर्डनविरुद्ध विहीबार रातिको फाइनलमा नेपालले सुरुआती अग्रता लिएको थियो । २९औँ मिनेटमा सविता रानामगरले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएकी थिइन् ।

सावित्रा नहुँदा सविताले पहिलोपटक प्लेइङ सेटमा स्थान बनाएकी थिइन् । जोर्डनमाथि नेपालले दबाब बनाए पनि ७४औँ मिनेटमा लाना फेरासले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याइन् ।
८९ औं मिनेटमा जोर्डनले गोल गर्दै २–१ को अग्रता लिएको थियो । सराह अबु सबाहले गोल गरेपछि नेपाल जोर्डनविरुद्ध पछि परेको थियो । दोस्रो हाफमा अतिरिक्त ८ मिनट थप गरेपछिको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पायो । जोर्डनका खेलाडीले नेपालकी रेखा पौडेलाई डीबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल दुई दुईको बराबरीमा पुग्यो । त्यसपछि बाँकी समयमा गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा जोर्डनका ५ खेलाडीले गोल गर्दा नेपालका ३ खेलाडीको मात्रै प्रहारले जाली चुम्यो ।
नेपालबाट गीता राना, दीपा शाही र हीराकुमारी भुजेलले मात्रै गोल गरे । जोर्डनका लागि आया अल मजाली, मायसा बाराह, नोउरा जोक्वास, सराह आबु सबाह र रौजवहान फ्राइजले गोल गरे ।
वाफमा सावित्रा बनिन् सर्वाधिक गोलकर्ता
नेपालकी सावित्रा भण्डारी सर्वाधिक वाफा च्याम्प्यिनसिपको सर्वाधिक गोलकर्ता बनिन् । उनले सेमिफाइनलसम्मका ४ खेलमा ९ गोल गरेकी थिइन् ।
फाइनल गुमाए पनि उनको गोल संख्या अन्य खेलाडीले तोड्न सकेनन् । सावित्राले इराकविरुद्ध पाँच प्यालेस्टाइनविरुद्ध दुई तथा सिरिया र लेबनानविरुद्ध एक गोल गरेकी थिइन् । इराक विरुद्ध पाँच गोल गरेकी थिइन् । यसैगरी प्यालेस्टाइन विरुद्ध दुई तथा सिरिया र सेमिफाइनलमा लेबनानविरुद्ध एक एक गोल गरेकी थिइन् ।
यसैगरी जोर्डनकी कप्तान मायासा जिबाराह उत्कृष्ट खेलाडी घोषित हुँदा जोर्डनकै गोलकिपर शेरिन उत्कृष्ट गोलकिपर बनिन् ।
















