ट्रान्स अमेरिकन ल्यानक्यास्टर डोजोमा २८ जनाको बेल्ट ग्रेडिङ
ल्यानक्यास्टर,पेन्सिलभेनिया / ट्रान्स अमेरिकन एसोसिएसन अफ सितोरियो कराते (टीएएसके) पेन्सिलभेनिया ल्यानक्यास्टर डोजोमा शनिवार २८ खेलाडीको बेल्ट ग्रेडिङ सम्पन्न भएको छ।
डोजोमा पछिल्लो पटक गत वर्षको मे महिनामा बेल्टग्रेडिङ गरिएको थियो।
ट्रान्स अमेरिकन नेपाली भाषी भुटानी प्रशिक्षकहरूले संचान गरेको कराते स्कुल हो। अमेरिकाको पेन्सिल्भेनिया, ओहायो र केन्टीमा गरी पाँच शहरमा यसले डोजो सञ्चालन गरेको छ।
नेपाली करातेका संस्थापक टीएस (थानेश्वर) राई ट्रान्स अमेरिकनको प्राविधिक निर्देशक छन्।
ट्रान्स अमेरिकाका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक टीआर राईको सुपरीवेक्षमा शनिवार ल्यानक्यास्टर डोजोमा खेलाडीको बेल्ट ग्रेडिङ गरिएको हो।
बेल्ट ग्रेडिङका लागि ओहायोबाट प्रशिक्षक पूर्ण तामाङ समेत ल्यानक्यास्टर आएका थिए।
प्रशिक्षक राईले खेलाडीको प्रदर्शन पछि केही सुझाव सहित नयाँ बेल्ट र प्रमाण पत्र दिएका थिए।
ट्रान्स अमेरिकन ल्यानक्यास्टर डोजोका प्रशिक्षक तिलाचन धिमालका अनुसार यस पटक २८ जनाको बेल्ट ग्रेडिङ गरिएको छ।
पाँच जनाले ब्राउण्ड बेल्टको थर्ड केवाइयु पाएका छन्। यस्तै गरी पर्पल बेल्टमा एक, ग्रिन बेल्टमा चार, वरेन्ज बेल्टमा सात र एलो बेल्टमा ११ जना पदोन्नति भएका छन्।
बेल्ट ग्रेडिङमा सहभागीलाई वक्तृत्वकलामा पनि सहभागी गराइएको थियो। यसै गरी उनीहरूले नृत्य पनि गरेका थिए।
‘खेलाडीलाई करातेको किक हान्न मात्र होइन उनीहरूका अन्य प्रतिभाको पनि विकास होस भन्ने हाम्रो चाहाना हो।’ प्रशिक्षक धिमालले समाज टाइम्स सँग भने, ‘उनीहरूमा लिडरसिपको विकास होस भन्ने पनि चाहन्छौ, सार्वजनिक स्थानमा कुनै पनि विषयमा निर्धक्क बोल्न सक्ने, आफ्ना कुरा राख्न सक्ने हुन भन्ने बनाउँदै छौ।’
प्रशिक्षक धिमालले आफ्ना खेलाडीहरूलाई नेतृत्व विकास, वक्तृत्वकला र नेपाली कला संस्कृतिको बारेमा पनि जानकारी गराउने गरिएको बताए।
नेपाली भाषा, कला र संस्कृतिको बारेमा अमेरिकामा नयाँ पुस्तालाई जानकारी दिन नृत्य सजिलो माध्यम भएको पनि प्रशिक्षक धिमालको भनाई छ।
ट्रान्स अमेरिकन एसोसिएसन अफ सितोरियो कराते (टीएएसके) पेन्सिलभेनिया ल्यानक्यास्टर डोजो पेन्सिल्भेनिया राज्यमा दर्ता भएको गैर नाफामुखी संस्था हो।
प्रशिक्षक द्वय तिलाचन धिमाल र नारायण धिमालले ल्यानक्यास्टरमा इन्ट्रा-नेश्नल होम केयर एलएलसी र इन्ट्रा नेश्नल वयलफेयर तथा सपोर्ट फाउन्डेसन अफ अमेरिकाको हलमा कराते प्रशिक्षण दिँदै आएका छन्।
‘हामी गैरनाफामुलक संस्था दर्ता गरेर कराते सिकाउँदै आएका छौ, त्यस कारण हामीले न्यून शुल्क लिएका छौ।’ समाज टाइम्स सँगको कुराकानीमा प्रशिक्षक तिलाचन धिमाले भने,’ हामीलाई इन्ट्रा फाउन्डेसनका सिइओ डिल्ली अधिकारी र सिएफओ मेग सुवेदीले स्थान उपलब्ध गराइदिनु भएको हो त्यस कारण पनि सजिलो भएको छ।’















