धनुषामा हुने राष्ट्रिय हक्की प्रतियोगितामा सहभागी हुने कोशी टिमको विदाइ
विराटनगर । मधेश प्रदेशको धनुषामा हुने राष्ट्रिय महिला हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई विदाइ गरिएको छ ।झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा झापा जिल्ला हक्की संघले आज महिला खेलाडीहरुलाई विदाइ गरेको हो ।
प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की च्याम्पियनसिप २०८० मा सहभागी हुने कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी झापाकै छन् ।प्रदेशको हक्की टिमका सबै खेलाडी मेचीनगर १५ र १४ तथा भद्रपुर ९ पुँहातुबारीका हुन् ।
टिमको प्रशिक्षकमा दिपक खतिवडा र अफिसियलमा नेत्र तामाङ छन् ।विदाइ कार्यक्रममा संघका अध्यक्ष मनोज बुढाथोकी, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, झापा गोल्ड कपका वरिष्ठ उपाध्यक्ष बलराम कार्की र नेपाल खेलकुद पत्रकार मञ्च झापाका निवर्तमान अध्यक्ष हिमाल खरेलले शुभकामना व्यक्त गरेका थिए ।त्यस अवसरमा कोशी टिमकी कप्तान रञ्जना राजवंशीलाई जर्सी प्रदान गरिएको थियो ।










