जनसम्पर्कमा बहस : ३६४ दिन कांग्रेस अनि चुनावका दिन ?
ललितपुर । नेपाली कांग्रेसमा घात अन्तर्घात सामान्य जस्तै विषय हो । प्रवासमा नेपाली कांग्रेसको संगठन राम्रै पनि छ । त्यही प्रवासका विभिन्न फोरमहरुमा भने नेपाली कांग्रेसको उपस्थिीति कमजोर बन्दै गएको छ । नेपाली कांग्रेसको महासमितिको बैठक ललितपुरको गोदावरीमा चलि रहेकाबेला जनसम्पर्क समितिका पदाधिकारी तथा महासमिति सदस्यहरु अहिले छलफलमा सहभागी छन् ।
मंगलबार सनराइजहलमा विभिन्न प्रतिवेदन प्रस्तुत भइरहेका बेला कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले जनसम्पर्क समितिका व्यक्तिहरुसँग छलफल गरेका थिए ।
६० बढीको संख्यामा छलफलमा सहभागी भएका जनसम्पर्क समितिका सबैको एक स्वर थियो ‘विदेशमा हाम्रो जनसम्पर्क समिति बलियो छ’ । कार्यक्रममा सहभागी भएका कांग्रेसकै केन्द्रीय सदस्यहरुले सोधे त्यसो भए एनआरएनएको चुनावमा किन कांग्रेस उम्मेदवार पराजित त ?
त्यसैले सबैले आ आफ्नो कुरा राख्दै नेपालको राजनीतिले विदेशमा पनि प्रभाव पारेको निसंकोच बताए ।
नेपाली कांग्रेसमा गुटगत प्रभाव त छदैछ त्यसको प्रभाव जनसम्पर्क समितिमा परेको र त्यसको असर एनआरएनएसम्म पुगेको जवाफ दिए ।
नेपालमा विद्यार्थी राजनीति गरेर गएकाहरु नै अहिले अधिकांश जनसम्पर्क समितिको नेतृत्वमा छन् । यहाँको धङधङी र रवाफ तथा गुटगत प्रभावका कारण जनसम्पर्क समितिमा देखिने गरेको र जनसम्पर्क समितिको असन्तुष्टि एनआरएनएको चुनावमा पोखिने गरेको महासमिति सदस्य चिन्तामणी सापकोटाले बताए ।
यसैगरी, जनसम्पर्क समिति बेल्जियमका सभापति गंगाधर गौतमले जनसम्पर्क समिति र एनआरएनएबीच समन्व्य गरेर आगामी दिनमा अघि बढ्नु पर्नेमा जोड दिए । उनले जनसम्पर्क समितिले उठाएका उम्मेदवारलाई एनआरएएनमा जिताउनका लागि सबै लाग्नु पर्ने बताउँदै महासमिति बैठक पछि विगतका तिता मिठाहरु सबै मेटिने र नयाँ ढंगले अघि बढ्ने बताए । यसैगरी केही जनसम्पर्क समितिबाट आएका महासमिति सदस्यले अब ३६४ दिन कांग्रेस भन्ने अनि भोट हाल्ने दिन आफ्नालाई देखाइदिन अरुलाई भोट हाल्ने कुराको अन्त्य आफैबाट गर्नु पर्नेमा जोड दिए ।
यसअघि नवौं महाधिवेशनमा कुल आचार्यलाई जनसम्पर्क समितिबाट भोट नआएको र ११ औंमा महेश श्रेष्ठलाई पनि त्यस्तै अन्याय भएको बताए । साथै केही जनसम्पर्क समितिमा रहेका ठेकेदारहरुले पनि एनआरएनएलाई विगारेको आरोप उनीहरुले लगाए । केही जनसम्पर्क समितिहरुमा लामोसमय सम्म अधिवेशन नहुँदा पनि अप्ठेरो रहेको कुरा उठाइएको थियो ।
एनआरएनएमा झण्डै ७० प्रतिशत जनसम्पर्क समितिको बाहुल्यता हुँदा पनि पराजित हुनुपर्ने अवस्थाको अन्त्य सबै मिलेर गर्नु पर्ने सुझाव वरिष्ठ नेता डा. शेखर कोइरालाले दिए । उनले सबै मिलेर अघि बढ्दा मात्रै नेपाल र नेपालीको हक हित हुने भएकाले नेपालको जस्तो गुटगत प्रभावमा नपर्न आग्रह पनि गरे ।















