कर्मचारीसँग हुनुपर्ने एनआरएनए सचिवालयको चावी केसीसँग

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको राजेन्द्रकुमार (आरेक) शर्मा समूहको भौतिक उपस्थितिमा विहीबार काठमाडौंमा बैठक हुने भएको छ । ११ औं अधिवेशनपछि समानान्तर गतिविधि गर्दै आइरहेको शर्मा समूहले विहीबार काठमाडौंमा रहेको एनआरएनएको सचिवालयमा बैठक बोलाएको हो । विहीबार विहान १० बजेदेखि बैठक बस्ने शर्माले जानकारी दिए ।
बैठकका लागि अहिलेलाई ४–५ वटा एजेण्डा तय भएका छन् । एनआरएनए नागरिकता कार्यान्वयन, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या, विधान परिमार्जन लगायतका एजेण्डा तय भएका छन् ।
नेपाली कांग्रेसको महासमितिको बैठकमा अधिकांश एनआरएनएका पदाधिकारीहरु पनि काठमाडौंमा आएकाले यसैको मौका छोपेर पहिलो पटक भौतिक उपस्थिीतिमा बैठक बस्न लागेको हो ।
बालुवाटारमा बैठक बस्ने भनिए पनि त्यहाँको तालाचावी लिएको डा. वद्री केसी समूहले भने सहजीकरण गर्ने सम्भावना छैन । सचिवालयको बैठक कक्षको तालाचावी आफै केसीले लिएर गएको जवाफ शर्मा पक्षलाई दिएको छ । यसअघि समानान्तर कमिटी गठन भएपछि शर्मा समूह सचिवालय पुग्दा पनि तालाचावी केसीले नै लिएर हिँडेका थिए ।
विहीबारको बैठक अघि मंगलबार गोदावरीमा भएको आन्तरिक छलफलमा सचिवालयमै बैठक बस्नु पर्ने सचिवालयको भवन निर्माणमा विदेशमा रहेका सबै नेपालीको डलर जम्मा भएको बताएका थिए ।
जनसम्पर्क समितिका पदाधिकारी तथा महासमितिमा आएका सदस्यहरुले सचिवालयमा बैठक बसेर सन्देश दिनुपर्नेमा जोड दिएका छन् । जनसम्पर्क समितिसँगको छलफलपछि उत्साहित देखिएका शर्माले सबै एनसीसीले स्वायत्त तरिकाले काम गर्नु पर्नेमा जोड दिए ।