एनआरएनए केसी समूहद्वारा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस हस्तान्तरण
काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को वद्री केसी समूहले लुम्बिनी प्रदेशमा घुम्ती मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष डा. बद्री केसीले शुक्रवार नेपालगंजमा आयोजित एक समारोहकाबीच नेपालगंज उपमहानरपालिकाका कार्यबाहक नगरप्रमुख कलरुद्दिन राई मार्फत नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोवर्धन सिंह सम्झनालाई बस हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै समूहका अध्यक्ष डा. केसीले ५० लाख भन्दा बढी नेपालीहरु विभिन्न बाध्यताले विदेशीन परेको बताए ।
उनले विदेशबाट दैनिक जस्तो १० देखि १२ जनाको शव नेपाल आउने गरेको प्रति दुःख व्यक्त गर्दै गैरआवासीय नेपाली संघले विदेशमा रहेका श्रमिकहरुको हितमा काम गर्दै आएको बताए । उहाँले संघले विगत दुई दशकमा १ खर्बको लगानी र १ अर्ब बराबारको परोपकारी काम गरेको जानकारी दिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानरपालिकाका कार्यवाहक नगरप्रमुख कलरुद्दिन राईले विदेशमा बस्ने नेपालीहरुको सहयोगमा लुम्बिनी प्रदेशमा मोबाइल ब्लड बस सहयोग गरेको प्रति खुसी व्यक्त गरे ।
सातै प्रदेशमा मोबाईल ब्लड बस सेवा संचालन गर्ने एनआरएनएको अघिल्लो कार्यसमितिको नीति अनुरुप गैरआवासीय नेपाली संघ केसी समूहले यसअघि कोशी प्रदेश, मधेश प्रदेश, बागमती र शुदुरपश्चिम प्रदेश लगायतमा मोबाइल ब्लड बस हस्तान्तरण गरेको थियो ।
तर ११ औं अधिवेशनपछि संस्थामा विवाद बढ्दा अहिले एनआरएनए केसी समूह र शर्मा समूहको नाउँमा सामानान्तर गतिविधि भइरहेका छन् ।















