परराष्ट्र मन्त्रीलाई गौरी जोशीको धम्की: ‘एन पी दाइ भोली चुनाव लड्छन् कि लड्दैनन् हेर्नु छ’
पेन्सिल्भेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) डा बद्री केसी समूहका महासचिव गौरी जोशीले परराष्ट्र मन्त्री एन पी साउदलाई धम्की दिएका छन्।
एनआरएनए आइसीसीका पूर्व सह कोषाध्यक्ष तथा नेपाली जनसम्पर्क समिति जापानका पूर्व अध्यक्ष नारायण सुवेदीको एक स्ट्याटसमा कमेन्ट गर्दै महासचिव जोशीले यस्तो चेतावनी दिएका हुन्।
नेपाली कांग्रेस महासमिति सदस्य तथा कांग्रेसको सूचना,सञ्चार तथा प्रचार विभाग सदस्य समेत रहेका सुवेदीले एनआरएनए जापानलाई महासचिव जोशीद्वारा प्रेषित एक पत्रका सम्बन्धमा आफ्नो धारणा स्ट्याटस लेखेका छन्।
सुवेदीको स्ट्याटस यस्तो छ।
सुवेदीले जोशीको यो पत्रको बारेमा यस्तो स्ट्याटस लेखेका हुन्।
सोही स्ट्याटसमा प्रतिक्रिया दिने क्रममा महासचिव जोशीले एक ठाउँमा भनेका छन् ‘बेलैमा सम्हाल्नु होला, एन पी दाइ भोली चुनाव लड्छन् कि लड्दैनन् हेर्नु छ।’
जोशीको कमेन्टमा एनआरएनए अमेरिकाका पूर्व प्रवक्ता ओम भट्टराईले ‘नेपाल निर्वाचन आयोगलाई भनेर भेरो मार्फत निर्वाचन गराई दिन पर्छ ! सब तह लाग्छन् सर !’ भनेर अर्को कमेन्ट गरेका छन्।
भट्टराईको कमेन्टमा जवाफ दिँदै जोशीले लेखेका छन्,’समय बलवान हुन्छ, यिनलाई घण्टीले खान्छ।’
महासचिव जोशी यदुराम सापकोटाको स्ट्याटसमा पनि झगडा गर्न पुगेका छन्।
महासचिव जोशीले शुक्रवार मात्र तीन दिने अल्टिमेटम सहित एनसीसी जापानलाई पत्र काटेका हुन। केही समय अगाडि केसी समूहका उपाध्यक्ष बेलायत निवासी डा. हेमराज शर्मा जापान पुग्दा एनसीसीले कुनै कार्यक्रम नराखे पछि यो पत्र काण्ड सुरु भएको हो।
स्रोतका अनुसार ५० भन्दा बढी एसीसीहरुले अहिलेको अवस्थामा आफूहरू तटस्थ रहने भन्दै परराष्ट्र मन्त्रालयमा पत्र पठाएका छन्। भेरो भन्ने अस्ट्रेलियन कम्पनी मार्फत गरिएको एनआरएनए आइसीसीको चुनावी नतिजा विवादमा छ। नतिजा सार्वजनिक गर्ने क्रममा उपाध्यक्षका उम्मेदवार डा केशव पौडेललेको नेपालबाट प्राप्त मत सङ्ख्या शून्य देखिए पछि विवाद भएको हो। प्रारम्भिक नतिजामा अन्य उम्मेदवारले प्राप्त मतको जोड पनि मिलेको थिएन।
त्यस पछि तत्कालीन तीन अध्यक्ष डा. बद्री केसी, रबिना थापा र कुल आचार्यले अर्को सूचना जारी नभए सम्मका लागि महाधिवेशनका सबै प्रक्रिया स्थगित गरेका थिए। तर सहमति विपरीत बद्री केसी समूहले एकलौटी रूपमा शपथ ग्रहण गरेको थियो भने आरके शर्मा र महेश श्रेष्ठ समूहले अर्को कमिटी गठन गरेका थिए। त्यस पक्ष दुवै समूहले समानान्तर समिति मार्फत गतिविधि गर्दै आएका छन्।
स्मरणीय कुरा के छ भने दुई वर्ष अगाडि पनि महाधिवेशनकै समयमा एनआरएनए फुटेको थियो। पूर्व अध्यक्ष शेष घलेको संरक्षकत्वमा विनोद कुँवरको अध्यक्षतामा एनआरएनए सक्रिय छ।
एक पछि अर्को एनसीसीले एनआरएनए आइसीसीको पछिल्लो निर्वाचनको त्रुटि पूर्ण नजिता नमान्ने भन्दै पत्र पठाए पछि मन्त्रालयले पूर्व अध्यक्षहरूको संलग्नतामा तदर्थ समिति गठन गर्न लागेको जनाइएको छ। सोही कारण जोशी परराष्ट्र मन्त्री एन पी साउद सँग बढी आक्रोशित भएको हुन सक्ने बताइएको छ।