क्यालिफोर्नियामा फोहोर पानीलाई पिउँन योग्य बनाइँदै

पेन्सिल्भेनिया । जलवायु परिवर्तन लगाएतका विभिन्न कारणले स्वच्छ पानीको अभाव विश्वस्तरमै बढ्दै गएको छ । पानी मानिसको जीवनको सर्वाधिक महत्वपूर्ण अंगजस्तै बनिसकेको छ ।
स्वच्छ पानीको उपयोगका लागि विभिन्न देशले विभिन्न तरिकाहरु अपनाइरहेका छन् । यसै क्रममा अमेरिकाको क्यालिफोर्नियाले पनि पिउने पानी बचाउने नयाँ कदम चालेको छ । विगत केही वर्षयता त्यहाँ खानेपानीको संकट गहिरिँदै गएकाले अहिले फोहोर पानीलाई खानेपानीमा परिणत गर्ने गरी नयाँ योजना कार्यान्व्यन सुरु गर्दै छ । नयाँ नियम लागू गर्ने या नगर्ने भन्ने विषयमा क्यालिफोर्नियामा लागि मतदान नै भएको थियो ।
मतदान पछि, क्यालिफोर्नियाका अधिकारीहरूले नयाँ नियमहरू अनुमोदन गरेका छन् । नयाँ नियम अनुसार फोहोर पानीलाई पिउने पानीमा रूपान्तरण गर्न र घर, विद्यालय र कार्यालयहरूमा पाइप पु¥याउन एजेन्सीको रुपमा वाटर वरेन्ज काउन्टी भन्ने कम्पनीलाई जिम्मा दिइएको छ ।
क्यालिफोर्निया फोहोर पानीलाई राम्रो पानीमा रूपान्तरण गर्ने अनुमति दिने अमेरिकाको दोस्रो राज्य बन्ने भएको छ । ३९ मिलियन भन्दा बढी बासिन्दाहरूलाई पिउने पानीको भरपर्दो स्रोतहरू सुरक्षित गर्न दशकौंदेखि संघर्ष गरेको राज्यको लागि यो एउटा ठूलो कदम पनि हो । यो कदमलाई ठूलो राहतको रुपमा हेरिएको छ । खानेपानी संकटबाट गुज्रिरहेको क्यालिफोर्नियाले ठूलो राहत पाउने अपेक्षा गरिएको छ ।
क्यालिफोर्नियाले फोहोर पानी पुनः प्रयोग गर्न लागेको पहिलो पटक भने होइन । त्यहाँ दशकौंदेखि प्रयोग हुँदै आएको छ । यद्यपि पिउने पानीको रूपमा यसअघि कहिल्यै प्रयोग गरिएको थिएन । त्यसअघि फोहोर पानी सिँचाईका लागि प्रयोग हुँदै आएको थियो भने हिँउ बनाउन पनि ।
ओरेन्ज काउन्टीले ठूलो पानी प्रशोधन प्रणाली सञ्चालन गरेको छ । उसले फोहोर पानीलाई पुनः प्रयोग गर्छ र त्यसपछि यसलाई भूमिगत रुपमा पठाएपछि जमिनको पानीमा मिसिन्छ र फेरि पिउने पानीको लागि प्रयोग गर्न लायक हुन्छ ।