अमेरिकाको न्यु जर्सीमा गाडीको ठक्करबाट एक नेपालीको निधन!
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ ‘वनमा बाघ कराउने, खोरमा बाख्रा हराउने’ भन्ने उखान तपाईँले सुन्नु भएकै होला।
हो, त्यस्तै अवस्था अहिले रामेछाप जिल्लाको दोरम्बा खारापानीकी देवी श्रेष्ठलाई परेको छ।
तिहारको टीकाको दिन काठमाडौँमा रहेकी उनी परिवार सँग रमाउँदै थिइन। टीका लगाएर खानपिन चल्दै थियो, त्यत्तिकैमा दिउँसो करिब तीन बजे अमेरिकामा रहेका श्रीमान् छत्र बहादुर नेवारले फोनमा भने ‘मेरो ज्यानको खतरा छ, मलाई मार्छन् बचाउ।’
देवीले पुलिस बोलाउन भनिन् ।
५४ वर्षीया छत्रले जवाफ फर्काए पुलिस बाहिर आइरहेको छ मलाई घेरी रहेको छ।
चाडबाडको बेला रमाइलो गरी रहेको समयमा श्रीमानको फोनले देवी अतालिइन। उनले अमेरिकामा नै रहेका नन्द ज्वाइँ पदम बहादुर श्रेष्ठलाई फोन गरिनन्। पदमको फोन उठेन। भ्रमण राज्यमा बस्दै आएका पदम निन्द्रामा थिए। देवीले अमेरिकामा रहेका अन्य आफन्तलाई पनि फोन गरिन तर कसैको फोन उठेन।
बिहान चार बजे तिर रेस्टरुममा जानका लागि पदम उठे। फोनमा धेरै नै कल मिस रहेछ। स्थानीय समय अनुसार राति एक बजे तिरै जेठान छत्रले फोन गरेका रहेछन्। देवीको पनि मिस कल । रातिमा दुवै जनाले किन फोन गरे भन्ने शङ्का मान्दै पदमले छत्रलाई फोन गरे। ‘म ट्वाइलेटमा लुकेर फोन गरेको मेरो ज्यान खतरामा छ, बाहिर निस्कियो भने मार्छन्।’ पदम आश्चर्यमा परे।
उनले प्रश्न गरे ‘होइन कसले मार्छ अमेरिकामा तपाईँलाई?’
‘साहुले मान्छे खटाएका छन्।’ छत्रको जवाफ आयो। ‘ट्वाइलेटमा सीसी क्यामरा पनि राखेको छ।’
त्यस्तो पनि हुन्छ किन मार्ने साहुले फेरि सोधे पदमले
‘बिहान पापड बनाउँदा बिगारेको थिए, त्यही निहुँमा साहुले मलाई र स्पेनिसलाई गाली गरेका थिए। त्यो स्पेनिसलाई पनि कता बेपत्ता बनाए खै म चैँ बाथरुममा छु यहाँ पनि क्यामरा लगाएको छ।’ छत्रले पदमलाई भने।
पदमले पुलिसलाई खबर गर्न भने तर छत्रले स्थानीय पुलिसले आफूलाई चिन्ने भएकाले अन्य राज्यको पुलिसलाई खबर गरिदिन अनुरोध गरे। ‘यहाँको पुलिसले त मलाई चिन्छन बोलाए पनि आउदैनन्।’ छत्रले भने।
पदमले जवाफ फर्काए ‘त्यसरी कहाँ हुन्छ अर्को राज्यको पुलिस त्यहाँ आउँदैन ९११ मा फोन गर्नुस्’ भनेर कुरा टुङ्गाए।
त्यस पछि नेपालमा देवी सँग कुरा गरे। देवी आत्तिएकी थिइन। ‘लौन बचाउनु पर्यो’ गुहार मागिन।
देवीले पनि श्रीमान् सँग सोधेकी थिइन। कसले मार्ने तपाईँलाई किन मार्ने ? जवाफमा छत्रले भनेका थिए ‘मलाई पनि मार्छन्, तँलाई पनि मार्छन्। हाम्रो सानो छोराको बिचल्ली हुने भो। त अहिले कोठामा नबस त्यहाँ तँलाई पनि खतरा छ।’ छत्रको कुरा छिनछिनमा फरक खालको थियो। कहिले रिसाउँथे पनि।
देवीले कसले मार्ने त्यसै भनेर सोध्धा ‘तेरो बाउले’ भनेर छत्रले रुखो जवाफ पनि फर्काएका थिए।
यी सबै कुरा एक सासमा देवीले आफ्ना नन्दे ज्वाइँ पदमलाई सुनाइन्।
पदम विलखबन्दनमा परे। अमेरिकामा रेस्टुरेन्टको कामदारलाई मार्ने पर्ने के अवस्था आउँछ साहुलाई भन्ने उनको मनमा पर्यो।
छत्र पहिला देखि नै अत्यधिक मदिरा पिउँथे। पदमले सोचे तिहारको बेला अलि बढी नै पिएछन् की।
तर बिहान ११ बजे तिर न्यु जर्सीबाट अपरिचित नम्बर वाट पदमलाई पटक पटक फोन आउन थाल्यो। फोन उठाए। पुलिसको रहेछ। अग्रेजी भाषामा दखल नराख्ने पदमले आफू काम गर्ने ठाउँमा राम्रो सँग अग्रेजी बोल्ने अर्का नेपाली साथीको सहयोगमा कुराकानी अगाडि बढाए।
‘तिमि पदम हौ।’ पुलिस अफिसरको प्रश्न सँगै आदेश पनि थियो, तिमि प्रहरी थाना आउनु पर्यो।’
पदमले डर मिश्रित जवाफ मागे ‘किन?’
खासै त्यस्तो त होइन तर छत्रको बारेमा कुरा गर्नु छ।
पदमले भने म त टाढा छु भ्रमण राज्यमा अहिले त आउन सक्दिन के भयो र छत्रलाई ?
प्रहरी अफिसरले भने ‘उनको गाडी दुर्घटनामा निधन भयो, हामीले गाडी चालक र गाडी नियन्त्रणमा लिएका छौ।’
पदमको ओठ तालु सुक्यो। के गर्ने के नगर्ने। केही घण्टा अगाडि जेठान (छत्र) ले भन्दै थिए मेरो ज्यान खतरामा छ मलाई मार्छन्। कुरा पत्याएका थिइनन्, अहिले प्रहरी लास बुझ्न आउनु भन्छ।
छत्रको परिवारका सबै नेपालमा छन्। उनले दोस्रो विवाह गरेका हुन। पहिलो श्रीमतीबाट दुई छोरा र एक छोरी छन्। पहिलो विवाह टुटे पछि छत्रले देवी सँग लगनगाँठो कसेका हुन्।
देवीको कोखबाट एक छोरा जन्मेका छन्। ११ महिनाको दुधे बालक छोडेर तल्लो बाटो हुँदै छत्र २०७३ सालमा अमेरिका आएका हुन्। अमेरिका आउनु अगाडि उनले मलेसिया र साउदीमा पनि काम गरेका थिए।
अमेरिका आए पछि सबै भन्दा लामो समय न्यु जर्सीमा भारतीयमुलकाले चलाएको रेस्टुरेन्टमा काम गर्दै आएका हुन्।
पदमका अनुसार छत्र नियमित काममा जाँदैन थिए। अत्यधिक मदिरा पिउने उनको बानी थियो। अन्यत्र उनलाई एक दिन पनि काममा राखेनन्। तर भारतीय साहुले औधी माया गर्थे। हप्तौँ हराएर आउँदा पनि फेरि काममा लगाउँथे। मदिरा धेरै नपिउन सल्लाह दिन्थे।
छत्र सुध्रिन्छ की भनेर केही वर्ष अगाडि पदमलाई पनि ती भारतीयले आफ्नै रेस्टुरेन्टमा काम दिएका थिए। छत्र र पदमले लगभग ६ महिना सँगै काम गरे तर छत्रले मदिराको लत छोडेनन्। पदम न्यु जर्सीबाट भ्रमण बसाई सरे।
छत्र समय समयमा हराउँथे। उनलाई प्रहरीले पटक पटक सडकबाटै उठाएर अस्पतालमा लगी उपचार पनि गाएको थियो।
उच्च रक्तचापका कारण एक पटक उनी रेस्टुरेन्टमै ढले। भारतीय साहुका बाबु छोराले अस्पताल लगेर उपचार गराए। त्यही बेला साहुले देवीलाई फोन गरेर छत्रको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएका थिए।
त्यस पछि बेला बेला छत्र सम्पर्क विहीन हुँदा देवीले साहुलाई फोन गरेर हालखबर सोध्ने गर्थिन।
साहुलाई लाग्यो देवीलाई अमेरिका ल्याउँदा छत्र सुद्रिन्छन की। छत्रको ‘कागज’ पक्रियामा नै थियो। साहुले नै देवी र उनको कान्छो छोराको लागि स्पन्सर गरिदिए।
दसै अगाडि घटस्थापनाको तीन दिन पहिले मात्र देवीले काठमाडौँमा रहेको अमेरिकी दूतावासमा अन्तर्वार्ता पनि दिएकी थिइन। तर दूतावासले भिसा दिन अस्वीकार गर्यो। त्यस पछि पनि श्रीमान् श्रीमतीको नियमित कुराकानी हुँदै आएको थियो।
न्यु जर्सीबाट प्रहरीको फोन आए पछि अतालिएका पदमले साथीभाइ गुहार्न थाले । यसै क्रममा उनी गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका सचिव दीपक सापकोटा र पेन्सिल्भेनिया च्याप्टरका अध्यक्ष जयन्द्र लामाको सम्पर्कमा पुगे। किनकि घटना भएको ठाउँ फिलाडेल्फियाको पारिपट्टि थियो।
भ्रर्मणबाट आएका पदम न्यु योर्कमा रहेका आफ्ना भाइ केदार र एनआरएनए पदाधिकारीको साथ प्रहरी थाना पुगे।
एनआरएनए अमेरिकाका सचिव सापकोटाका अनुसार प्रहरीले अनुसन्धानमै रहेकाले अहिले नै घटनाका बारेमा थप भन्न नमिल्ने बताएको छ।
प्रहरीले छत्रको शव नजिकै अस्पतालमा रहेको तर हेर्न नमिल्ने भनेको छ। चालकले आफ्नो गाडिले मान्छेलाई ठक्कर दिएको भन्दै प्रहरीलाई खबर गरेका हुन्। चालक र सवारी साधन दुवै प्रहरीको नियन्त्रणमा छन्।
एनआरएनएको टोली, पदम र रेस्टुरेन्ट साहुले पनि भेट गरेको बताइएको छ। ‘पहिला त हामीलाई पनि छत्रलाई मारेका त होइनन् भन्ने लागेको थियो, तर रेस्टुरेन्टका साहु भेटे पछि र सबै कुरा सुनेपछि त्यस्तो हुन नपर्ने हो जस्तो लाग्छ।’ एनआरएनए पेन्सिलभेनिया च्याप्टर अध्यक्ष लामा बताउँछन्। ‘अमेरिकामा कानुनबाट उम्कन गाह्रो छ, ती साहुलाई छत्रबाट के त्यस्तो खतरा होला र यत्रो जोखिम मोल्न।’
‘रेस्टुरेन्ट साहुलाई छत्रको आरोप बारेमा जानकारी नै रहेनछ। उनीहरूले घटनाबाट क्षतिपूर्ति कसरी लिने, नेपालमा रहेका परिवारलाई कसरी सहयोग गर्ने, छत्रको सदगत कसरी गर्ने भन्नेमा हामी सँग सल्लाह गर्दै थिए।’ एनआरएनए सचिव सापकोटाले भने। उनी पनि प्रहरीको रिपोर्ट कुर्नुको विकल्प नभएको बताउँछन्।
‘परिस्थिति वनमा बाघ कराउनु र खोरमा बाख्रा हराउनु’ भने जस्तो अवस्था छ, समाज टाइम्स सँग सापकोटाले भने, घटनाको बारेमा प्रहरीले रिपोर्ट दिन्छु भनेको छ। हामी परिवारको सम्पर्कमा रहेछ सहजिकरणका लागि काम गर्दै छौ।’
अस्पतालमा रहेको शवलाई फिनरल होम (शव दाह गृह) सम्म ल्याउनका लाग मेरील्याण्ड राज्यका लागि नेपाली मूलका डेलिगेट डा. ह्यारि भण्डारीको कार्यालयले समन्वय गर्ने भएको छ।
‘यो दुखद घटना भयो, खास के भएको हो प्रहरीको रिपोर्ट कुर्नुको विकल्प रहेन तर मृत आत्माको शान्ति र परिवारको दुखमा मेरो कार्यालयले सहयोग गर्छ।’ डा. भण्डारीले समाज टाइम्स सँग भने।
नेपालमा रहेकी देवी आफू माथि पटक पटक बज्रपात भएको बत्ताउँछिन्। ‘१४ महिनामा मैले तेस्रो लास बेहोर्नु परेको छ, जेठमा सासू बित्नु भयो, असारमा आमा गुमाए अहिले श्रीमान्।’
छत्रको निधनबारे नेपालमा रहेको परिवार नै अन्योलमा छन्। छत्रका जेठी श्रीमती तर्फका जेठो छोरा दीपक घटना के हो के हो भन्ने भएको बताउँछन्।
‘बाबाले ट्वाइलेटमा बसेर फोन गरेको मलाई मार्छन् भन्नु भएको रहेछ, हत्या हो कि दुर्घटना भन्नै सकिएन।’ नेपालबाट छत्रका छोरा दीपक भन्छन्।
देवीलाई पनि आफ्नो श्रीमानको कुरा पत्याउने की नपत्याउने भन्ने भएको छ। ‘बुढाले यस्तरी खायो बुढी ल्याएर सुध्रिन्छ की भनेर साहुले भिसाको लागि सहयोग गर्यो, मेरो भाइ जस्तै हो भनेर बुढालाई भन्थो साहुले , बुढाकै मार्फत मेरो भिसाको कदम चलेको हो।’ देवी भन्छिन्।
अनि त्यत्रो सहयोग गरेको मान्छेलाई पनि शङ्का गर्नु पर्ने ठाउँ आयो नि भन्ने प्रश्नमा देवीको जवाफ छ
‘डाउट चैँ भयो कुरा सम्झिदा तर मनले हो जस्तो लागेको छैन।’
















