गंगधार गौतमले गरे आइसीसीमा उपाध्यक्षमा उम्मेदवारी मनोनयन

काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी निर्वाचनमा गंगाधर गौतमले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
एनआरएनए आइसीसीको निर्वाचन अक्टोबर १९ तारिख हुँदै छ। गौतम वर्तमान कमिटीका सचिव हुन्। गौतमले आइतबार काठमाडौँमा रहेको एनआरएनए निर्वाचन समितिको कार्यालय बालुवाटारमा आफ्नो पदमा मनोनयन दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा साउदी अरेबियाबाट अर्जुन थापा र इटालीबाट राजन चापागाईँ रहेका छन् भने समर्थकमा बेल्जियमका मदन दवाडी र जापानका नारायण सुबेदी रहेका छन्। निर्वाचन समितिले अक्टोबर १६ दिउसो एक बजे सम्म लाई मनोनयन दर्ता गर्ने समय तोकेको छ।
एक अध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव सहित ७४ वटा पदको लागि निर्वाचन हुदैछ भने सबै उम्मेदवारहरूले सामाजिक सञ्जाल, व्यक्तिगत र संस्थागत रूपमा मतदाताहरूलाई अपिल गरिरहेका छन्।
उपाध्यक्षका उम्मेदवार गंगाधर गौतम को हुन् ?
बाग्लुङ्ग जिल्लाको गल्कोटमा गौतम सानै देखि राजनीतिमा प्रवेश गरेका हुन्। स्कुले जीवन देखि नै गल्कोट क्षेत्रको राजनीतिक चेतनाले उनलाई राजनीति प्रति आकर्षित गर्यो। सानै देखि स्पष्ट भाषामा समर्थकहरूलाई सम्बोधन गर्न र विपक्षीहरूलाई चुनौती दिन उनी सिपालु थिए। नेकपा मसालको गढको रूपमा चर्चित गलकोटमा नेपाल विद्यार्थी संघको नेताको रूपमा सङ्गठन गर्दै गर्दा धेरै पटक ज्यान नै जोखिममा परे पनि उनले यात्रा रोकेनन्।

स्कुल सकेपछि उनी महेन्द्र बहुमुखी क्याम्पस भर्ना भए। त्यहाँ स्ववियुको सचिव र अध्यक्ष भए। त्यसपछि नेपाल विद्यार्थी संघ बाग्लुङ्गको अध्यक्ष बने। यसरी नै राजनीतिक यात्रा चलिरहँदा २०५२ देखि चलेको माओवादी हिंसाले उनलाई गाउँघर छोड्न बाध्य बनायो। उनी ज्यान जोगाउन युरोप भासिन बाध्य भए।
प्रवासमा पनि उनले आफ्नो आस्था रहेको पार्टीको सङ्गठनमा सक्रिय रहे। जनसम्पर्क समिति बेल्जियमको अध्यक्ष, जनसम्पर्क समिति युरोपको संयोजक हुँदै नेपाली कांग्रेसका हरेक अभियान र कार्यक्रमहरूमा सक्रिय रहे।
त्यस पछि २००६ देखि प्रवासमा सक्रिय एनआरएनमा सक्रिय भए। समग्र प्रवासी नेपालीहरूको हितमा काम गर्न एनआरएन झन् उपयुक्त माध्यम हुन्छ भन्ने विश्वासबाट प्रेरित भएर उनी एनआरएन अभियानमा होमिए। त्यसपछि एनआरएनए बेल्जियमको अध्यक्ष, आइसीसीको सचिव हुँदै आफ्नो नेपालीको सेवा गर्ने अभिलाषा पुरा गर्दै गए।
एनआरएनमा एक अर्कालाई देख्न र स्विकार्न नसक्ने संस्कार हाबी भएको बेला उनले शेष घले समूहसँग वार्ता गरेर एउटै एनआरएन बनाउन पर्छ भनेर विगत दुई वर्ष देखि सक्रिय रूपमा लागे। बिचारमा स्पष्टता र मेलमिलापको लागि लचकतासाथ प्रस्तुत हुने गौतम महासचिवका समेत बलिया दाबेदार थिए। तर राष्ट्रिय अन्तर्राष्ट्रिय अवस्थालाई ध्यानमा राखेर र साथीभाइहरूको आग्रहलाई स्वीकार गर्दै उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
उपाध्यक्षको पदमा दर्जन भन्दा बढी उम्मेदवार भए पनि योगदान र पोर्टफोलियोको हिसाबले उनी सबभन्दा बलिया उम्मेदवार हुन्। उनले एनआरएनमा दिएको योगदान, प्रवासी नेपालीहरूमा उनले बनाएको पहिचान र भावी योजनाको हिसाबले पनि उनी निर्वाचित हुने बलियो सम्भावना छ। मतदाताले उम्मेदवारहरूको नालीबेली थाहा पाउने हो भने उनलाई भोट नहाल्नु पर्ने कुनै कारण देखिन्न।
एनआरएन आन्दोलनलाई बलियो बनाउन संरचनात्मक परिवर्तन, नेपाली नागरिकताको निरन्तरताको लागि दबाबमूलक अभियान, एउटै एनआरएन बनाउनको लागि सबैले हठ त्याग, पैसाको होइन एजेन्डाको प्रतिस्पर्धा हुने वातावरण बनाउने, नेपालमा आउने हरेक पञ्जीकृत सदस्यहरूले आइसीसीको निर्वाचनमा मतदान गर्न पाउने गरी आवश्यक काम गर्ने जस्ता दूरगामी एजेन्डा अगाडी सारेका गौतम एनआरएन अभियानको लागि आवश्यक व्यक्ति हुन्।