एनआरएनएको विश्व सम्मेलन र चुनावले काठमाडौँमा चहलपहल बढ्दो
काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को विश्व सम्मेलन तथा ११ औँ महाधिवेशनका लागि विश्वभरबाट प्रतिनिधि (डेलिगेट्स) हरू नेपाल आउने क्रम सुरु भएको छ । काठमाडौँको सोल्टी होटेलमा अक्टोबर १७ देखि २० तारिख सम्म हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले चुनावी चहलपहल पनि व्यापक बढेको छ । बिहीबारबाट उम्मेदवारको मनोनयन समेत सुरु हुँदै छ।
नयाँ नेतृत्वका लागि हालका कार्यकारी अध्यक्ष डा.बद्री केसी, अध्यक्ष रवीना थापा, उपाध्यक्ष महेशकुमार श्रेष्ठ तथा अर्का उपाध्यक्ष आरके शर्मा बिच प्रतिस्पर्धा हुँदै छ । तर डा.केसी र श्रेष्ठबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । रवीना र आरकेले पनि आफूलाई बलियो दाबी गरेका छन्।
सुरुमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका विनय अधिकारी त्यसपछि गुमनाम छन्।
चुनावका लागि निर्वाचन समितिले चार हजार एक सय ९२ जनाको प्रारम्भिक मतदाता नामावली प्रकाशित गरिसकेको छ । यस पटक भौतिक र अनलाइनमार्फत मतदान गर्न पाउने व्यवस्था भए पनि डेलिगेट्सहरु काठमाडौँ उत्रने क्रम भने कम हुने अनुमान गरिएको छ । यद्पी ठमेल, दरबारमार्ग, बालुवाटारलगायतका क्षेत्रमा उम्मेदवार तथा डेलिगेट्सहरुको बाक्लो उपस्थिति देखिएको छ ।
विभिन्न देशको भ्रमण सकेर अध्यक्षलगायत अन्य पदका प्रत्याशीहरूले काठमाडौँमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । ९ बुँदे प्रतिबद्धतासहित डा.केसीले पुन अध्यक्षमा दाबी प्रस्तुत गरेका छन् भने मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएका उपाध्यक्ष श्रेष्ठले पाँच बुँदे प्रतिबद्धतासहित चुनावी अभियानलाई अघि बढाएका छन् ।
१० औँ महाधिवेशनबाट पूर्व अध्यक्ष शेष घले समर्थित ठुलो समूह असन्तुष्ट भएपछि विनोद कुँवरको नेतृत्वमा छुट्टै कार्य समितिको घोषणा गरिएको थियो । विभाजनमा रहेको एनआरएनए अभियानलाई एक ठाउँमा ल्याउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा जुन १८, २०२३ मा दुवै पक्षबिच सहमति भएको थियो। तर पछिल्लो समय चार बुँदामा समेटिएको सहमति कार्यान्वयनमा नआएपछि एकताको महाधिवेशन हुने सम्भावना निकै कमजोर भएको बताइन्छ ।
यद्यपि , तीन दिन अघि अध्यक्षका प्रत्याशी महेशकुमार श्रेष्ठले कोरिया भ्रमणका क्रममा असन्तुष्ट समूहको नेतृत्व गरिरहेका विनोद कुँवरसँग भेटेर एकताका लागि अनौपचारिक सहमति गरेपछि चुनावी माहौल परिवर्तन भएको छ । उनीहरूबिच भएको आन्तरिक छलफलमा तीन महिनाभित्र एकता गर्ने सहमति जुटेको थियो ।
कोरिया भ्रमणमा रहेका बेला श्रेष्ठले आफ्नो टिमका उम्मेदवारहरू र डेलिगेट्स एवम् सदस्यहरूबिच आयोजना गरिएको अन्तर संवादलाई सम्बोधन गर्नेक्रममा तीन महिनाभित्र एकता गराउने प्रतिबद्धता जनाएका थिए । आफ्नो सम्बोधनको क्रममा उनले एक महिनाभित्र एकताको खाका तयार गर्ने र तीन महिनाभित्र सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई एकताको सूत्रमा बाँध्ने प्रतिज्ञा गर्दै विनोद कुँवरलाई साथमै राखेर सम्बोधन गरेपछि महेश टिम उत्साहित बनेको छ।
त्यस क्रममा उनले भने,‘ गैर आवासीय नेपाली संघप्रति ठुलो अपेक्षा छ । तर पछिल्लो समय संस्थामा विवाद बढेकाले अब सहमति, सहकार्य र भावनात्मक एकता गर्नुपर्ने छ । त्यसैले विनोद कुँवरजीलाई साथमै राखेर म संघलाई एक बनाइ छाड्ने वाचा गर्दछु,’ उनले भने,‘विगतका दिनमा केही अविश्वास बढ्यो, प्राविधिक कारणले मिलन हुन सकेन, तर म समन्वयकारी भूमिका निर्वाह गरेर इतिहास बनाउँछु ।’
त्यस क्रममा कुँवरले १०औँ महाधिवेशनमा जस्तै त्रुटिहरू नगर्न र एकता गर्न आव्हान गरेका थिए । उनले श्रेष्ठलाई शुभकामना समेत दिँदै सद्भाव प्रकट गरेका थिए । गत मार्च २०२२ मा काठमाडौँमा एनआरएनएको छुट्टाछुट्टै १० औँ महाधिवेशन आयोजना गरिए पछि कुँवर नेतृत्वको समूहले समानान्तर संस्था सञ्चालन गर्दै आएको छ।
यसै बीच डा. बद्री समुहले पनि आफु निकट सँगको बैठकमा परिस्थिति सकारात्मक बन्दै गएको विश्लेषण गरेको छ। बुधवारको काठमाडौंमा उपलब्ध उम्मेदवार र जुम बैठकमा चुनाव भाडिन सक्नेमा सतर्क रहदै, आफ्ना मतदातालाई जोगाएर मतदान स्थल सम्म पुर्याउने सहमति भएको जनाइएको छ।













