प्रवासी नेपाली मञ्चले हमास आक्रमणमा मारिएका नेपालीका परिवारलाई प्रतिव्यक्ति एक लाख दिने
पेन्सिल्भेनिया/ प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले इजरायलमा भएको हमास आक्रमणमा ज्यान गुमाएका १० जना नेपालीका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
मञ्चको अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाका अनुसार मङ्गलवार बसेको सचिवालय बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै प्रतिपरिवार एक लाख रुपैयाँको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
‘दक्षिणी इजरायलको किबुजमा गत सात अक्टोबरमा प्यालेस्टानी बिद्रोहीसमुह हमासले गरेको आक्रमणमापरी ज्यान गुमाउन पुगेका नेपाली बिद्यार्थीहरुको परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँको दरले जम्मा १० लाख रुपैयाँ सिङ्गो प्रवासी नेपाली मञ्च परिवारको तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरेका छौँ।” मञ्चका अध्यक्ष थापा र सचिव हेम शेर्पाद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ।
‘दुखमा रहेको परिवार सँग हामी पनि साथमा छौ भन्नका लागि यो सहयोग गरिएको हो।’समाज टाइम्स सँग अध्यक्ष थापाले भने।
मञ्चले इजरायलमा भएको घटनाबाट देश र परिवारमा भएको अपूरणीय क्षतिलाई बेहोर्न नसकिएता पनि आफ्नो सानो सहयोगले पनि परिवारको पीडामा मलमपट्टी लगाउने विश्वास लिएको जनाएको छ ।













