एनआरएनए आइसीसी उपाध्यक्षका उम्मेदवार राज रेग्मीको जोड ‘नेपालमै स्वरोजगार वृद्धि’
काठमाडौँ / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को आगामी उपाध्यक्षका उम्मेदवार राजु (राज) रेग्मीले स्वदेशमै स्वरोजगार वृद्धि आफ्नो प्रमुख एजेन्डा भएको बताएका छन्।
कतारमा व्यवसाय गर्दै आएका रेग्मीले बुधवार विज्ञप्ति जारी गर्दै आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका हुन्।
मातृभूमिको समृद्धिको लागि सामूहिक लगानी प्रवर्द्धन,स्वरोजगार,सुरक्षित एवं मर्यादित वैदेशिक रोजगार तथा प्राविधिक शिक्षालयको स्थापना आफ्नो मुख्य एजेन्डा रहेको उनले बताएका छन्। रेग्मीले एनआरएनएको संस्थागत गरिमा बढाउने र समृद्ध नेपालको सपनालाई सार्थक तुल्याउन आफ्नो टिमले काम गर्ने बताए। ११ औँ महाधिवेशनको पूर्व सन्ध्यामा एक अपिल जारी गर्दै हाल संघका युवा उपाध्यक्ष रहेका रेग्मीले संसार भरिका प्रवासी नेपालीहरूको सहयोगबाट मातृभूमिको समृद्धिका लागि आफ्नो टिमले काम गर्ने बताए ।
रेग्मीलाई टिम महेशको उम्मेदवार भनेर प्रचार गरिएको छ। यद्यपि उनको नाम अध्यक्षका अर्का प्रत्याशी आरके शर्माको टिममा पनि राखिएको छ।
खास गरी नेपालमै स्वरोजगार वृद्धि गर्न र विदेशबाट विभिन्न सीप बोकेर फर्केका ‘रिटर्नी माइग्रेंट’ हरू का लागि नेपालमा नै रोजगार सृजना गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
रेग्मीको अपिल:
आदरणीय गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
नमस्कार ।
यहाँहरूको साथ र सहयोगको पूर्ण विश्वासका साथ आगामी अक्टोबर १७ देखि २० तारिखसम्म काठमाण्डौमा सम्पन्न हुन गइरहेको गैर आवासीय नेपाली संघको ११ औँ महाधिवेशनमा मैले संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। हाम्रो यो पवित्र अभियान एवं हाम्रो मातृभूमिको हितको लागि मैले बनाएर हिडेंका कार्य योजना र प्रतिबद्धतालाई सफल र परिणाममुखी बनाउन यहाँहरू सबैको साथ र सहयोगको लागि हार्दिक अपिल गर्दछु।
मलाई विश्वास छ। यहाँहरूको सहयोगबाट एनआरएनएको संस्थागत गरिमा बढाउने र समृद्ध नेपालको सपना हाम्रै पालामा सार्थक बनाउने मेरो सङ्कल्प साकार हुने छ। मेरा प्रतिवद्धताहरुलाई घोषणा पत्रमा मात्रै सीमित नराखेर यहाँहरूले दिएको अख्तियारीको फैसलाको दिनबाट नै कार्य शुभारम्भ गर्ने प्रण गर्दछु। एनआरएनएको सामीप्ययतामा रहे देखि मैले नेपाली समुदायमा गरेको कार्यहरू र मेरो पदीय जिम्मेवारीमा रहँदाको समयमा मैले गरेका संस्थागत र मानवीय कार्यहरूको बारेमा मैले भन्नु भन्दा पनि यहाँहरू नै जानकार हुनुहुन्छ। तसर्थ यहाँहरूको प्रेरणा र सहयोगको विश्वासको निरन्तरताले अझै केही गरौँ भन्ने उत्साह बढेर आएको छ।
मेरो प्रतिबद्धताको संक्षेपीकरण स्वरूप मेरो प्रमुख योजनामा पर्ने मातृभूमिको समृद्धिको लागि सामूहिक लगानी, स्वरोजगार, सुरक्षित एवं मर्यादित वैदेशिक रोजगार,प्राविधिक शिक्षालय र अन्य योजना स्वास्थ्य,पर्यटन, परोपकार र संघको संस्थागत व्यवस्थापकीय विकास नै हुने छन्। वर्तमान समयमा हाम्रो प्राथमिकतामा रहेका युवा, महिला तथा श्रममैत्री कार्यहरू अझ वैज्ञानिक र प्रविधियुक्त तवरबाट अगाडी बढाई नेपालमा स्वरोजगार व्यवस्थापन र विशेष गरी रिटर्नी माइग्रेंट’ हरूलाई नेपालमा नै रोजगार श्रृजनामा विशेष पहल रहने छ। तसर्थ मेरा पवित्र सपनाहरूलाई साकार बनाउनको लागि तपाईँहरूको साथ, सहयोगको अपेक्षा र अमूल्य सुझावको लागि हार्दिक अनुरोध गर्दछु ।
स्नेही,
राजु रेग्मी ‘राज’
वर्तमान युवा उपाध्यक्ष एवं
गैर आवासीय नेपाली संघ ११ औँ महाधिवेशन २०२३
उपाध्यक्ष पदका उम्मेदवार













