अमेरिकामा आज झिझिआ मनाइँदै

पेन्सिल्भेनिया/ मधेसी एसोसिएसन इन अमेरिका (मा) ले आज (अक्टुवर ८ तारिख आइतबार) अमेरिकाको न्यु जर्सी स्थित अडिसनमा झिझिया पर्व मनाउन लागेको छ। माका प्रवक्ता सुभाष कुमार बैठाका अनुसार अमेरिकामा पहिलो पटक झिझिया महोत्सव गर्न लागिएको हो।
‘जो जहाँ रहे पनि आफ्नो संस्कृति बिर्सिन चाहँदैन र बिर्सिनु पनि हुँदैन, यस बाट हामी सबैलाई वञ्चित हुनु हुँदैन भन्ने मान्यता सहित अमेरिकामा झिझिया मनाउन लागिएको हो । बैठाले भने।
‘जो जहाँ रहे पनि आफ्नो मातृभूमि ,परम्परा,संस्कार,रीतिरिवाज संस्कृति कहिले पनि बिर्सुन् हुँदैन,त्यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ र आफ्नो भावी पुस्ता लाई पनि आफ्नो परम्परा संस्कृति सिकाउनु पर्छ भन्ने उद्देश्य तथा एक अर्का सँग भेटघाट गर्ने उद्देश्यले अमेरिकाको न्यु जर्सी राज्य, पेन्सिल्भेनिया,न्यु योर्क आसपास बस्ने मधेसीहरूले मिलेर झिझिया महोत्सव मनाउन लागेका हुन ।’कार्यक्रम संयोजक सुवास साहले बताए।
कार्यक्रमका संयोजक साहले यो पहिलो चोटि भएको हुनाले अलि चुनौती पूर्ण भएको तर साथीहरू को साथ सहयोग र मा का पूर्व केन्द्रीय अध्यक्ष समाजसेवी सत्येन्द्र साह लगायत अभिभावक डा. विनोद साह को विशेष सहयोग एवं सहकार्य तथा फिलाडेल्फिया च्यापटर का अध्यक्ष नितेश पाण्डे हरूको सहयोग ले यो सबै सहज भएको बताए। उनले अब हरेक वर्ष नै महोत्सव को रूपमा झिझिया बनाउने बताए।
त्यस्तै मा का वरिष्ठ उपाध्यक्ष मनोज सिंहका अनुसार कार्यक्रमको तयारी पुरा भइसकेको छ । न्यु जर्सी वरिपरि रहेका सबै राज्य बाट मधेसी हरू को व्यापक उपस्थिति हुने अपेक्षा गरिएको सिंहले बनाए ।
कार्यक्रममा अभिभावक बालबालिका सबैको सहभागिता रहने अपेक्षा आयोजकको रहेको छ।
‘हामीले आफ्नो भावी सन्तति लाई आफ्नो परम्परा, संस्कार, रीतिरिवाज, सिकाउनु पर्छ जुन हाम्रो कर्तव्य हो ।’ बैठाले भने, ‘हामी डान्डिया, भांगड़ा… मा कति रमाउने जुन हाम्रो नै होइन । भोली हाम्रो छोरा छोरी ले हाम्रो के हो भने सोध्यो भने के जवाफ दिने?।’माका प्रवक्ता बैठाले भने।
अध्यक्ष संगित रौनियारले झिझिया, समा चकेवा, दीपावली, छठ लगायत मधेशका पर्व हरू अब सामूहिक रूप मा नै हामी मनाउने कोसिस गर्ने बताए। ‘जसबाट हाम्रो भावी सन्ततिले पनि लाभ र सिक्ने मौका पाउँछ साथै यसको जगेर्ना पनि हुन्छ ।’ रौनियारले भने।
