यु १९ साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमै रोकियो
काठमाडौं । यु १९ साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनलमा रोकिएको छ । भारतविरुद्ध आज भएको खेलमा नेपाल पेनाल्टी सुटआउटमा रोकिएको हो ।
निर्धारित समय एक एक गोलको बराबरीमा सकिएको थियो । तर, पेनाल्टी सुटआउटमा नेपाल चुक्न पुग्यो ।
खेलको २६ औं मिनेटमा भारतका साहिल खुर्सिदले गोल गर्दै अग्रता दिलाएका थिए । नेपाली रक्षकले क्लियर गर्न नसकेको बललाई खुर्सिदले गोलमा परिणत गरेका थिए । नेपालमाथि हावी भएको भारतले दोस्रो हाफमा भने केही दबाब महसुस गरेको थियो ।
७४ औं मिनेटमा नेपालले बराबरी गोल गरेको थियो । दीपक थापाको क्रसमा समिर तामाङले गोल गरेपछि नेपाल बराबरीमा फर्किएको थियो ।
त्यसपछि बाँकी समय थप गोल नभएपछि पेनाल्टी सुटआउटमा भारत ३–२ गोल अन्तरले विजयी भयो । नेपालका अश्विन घोरासैनी र कुशल देउवालेमात्रै गोल गर्दा भारतका अर्जुन सिंह, गोगोम्सर गोयरी र मागिलेतम किपगेमले गोल गरेका थिए ।
नेपालका प्रशान्त लक्क्षन र लक्षु थापा र विक्रम तामाङको प्रहार विफल भयो । उता भारतका दिनेश सिंह र रिक्की मितेयीको प्रहार विफल भएको थियो ।
अब शनिबार पाकिस्तान र भारत उपाधिका लागि खेल्ने छन् ।
















