नेपाली क्रिकेटको कीर्तिमानी जित
पेन्सिल्भेनिया । नेपालले एसीयाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा विजयी सुरुआत गरेको छ । पहिलो पटक अन्तर्राष्ट्रिय टी २० क्रिकेट खेलेको मंगोलियाविरुद्ध नेपालले कीर्तिमानै कीर्तिमान बनाएको छ ।
नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको हो । यो टी २० मा फराकिलो जित पनि रहेको छ । नेपालका कुशल मल्लले यो खेलमा सर्वाधिक छिटो शतक )३४ बल) बनाउने कीर्तिमान बनाउँदा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक छिटो ९ बलमा अर्धशतक पूरा गरे । यसैगरी टी २० अन्तर्राष्ट्रियमा ३ सय प्लस रन बनाउने नेपाल पहिलो टिम बनेको छ । नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो । नेपालका लागि कुशल मल्लले १३७ रनको नटआउट पारि खेले ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र मोहम्मद आशिफले ओपनिङ गरेका थिए । जसमा पहिलो विकेट नेपालले आशिफ शेखको रुपमा गुमाएको थियो । आशिफ १७ बलमा १६ रन बनाएर आउट भए । उनीले २ चौका प्रहार गरे । ७.२ ओभरमा ६६ रन भएका बेला कुशल भुर्तेल आउट भए । उनले २३ बलमा १९ रनको पारि खेलेका थिए । त्यसपछि कुशल मल्ल र कप्तान रोहित पौडेल मिलेर नेपालको पारि झनै आक्रामक बनाएका थिए । रोहित पौडेलले २७ बलमा ६१ रनको पारि खेल्दा ६ छक्का र २ चौका प्रहार गरे । यसैगरी रोहितपछि आएका दीपन्द्रसिंह ऐरीले १० बल खेल्दा ८ छक्का प्रहार गरे । उनले एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए । ऐरी ५२ रनमा नटआउट रहँदै अर्धशतकीय पारि खेल्दा कुशल मल्लले ५० बलमा १२ छक्का र ८ चौका प्रहार गर्दै १३७ रनमा नटआउट रहे ।
कुशलले सर्वाधिक छिटो शतक र टी २० मा व्यक्तिगत तर्फ एक इनिङमा सर्वाधिक रन बनाउँने विश्वको पाँचौं खेलाडी बनेका छन् । उनले नटआउट १३७ रन बनाए । यो रेकर्डमा अस्ट्रेलियाका आरोन फिन्च रहेका छन् । उनले १७२ रनको पारि खेलेका थिए । यसैगरी अफगानिस्तानका हजरतुल्लाह जजई १६२ नटआउट, आरोन फिन्च १५६, ग्लेन म्याक्सवेल १४५ नटआउट र कुशल मल्ल १३७ नटआउट रहेको छ। यसैगरी दीपेन्द्रसिंह ऐरीले पनि ९ बलमा अर्धशतक पूरा गर्दै अर्को रेकर्ड बनाए ।
नेपालविरुद्ध मंगोलियाका बलर निकै फिका सावित भए । इरडेनबुलगन,जमेनसुरेन र अल्टनखुयागले एक एक विकेट लिए ।
३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा सेमिटन पुग्यो । नेपालका करण केसी, अभिनास बोहोरा र सन्दीप लामिछानेले दुई दुई विकेट लिँदा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट हात पारे । मंगोलयाको टिम १३.१ ओभरमा ४१ रन बनाएर आउट भयो ।
नेपालले फराकिलो अन्तरको रन जितमा पनि कीर्तिमान बनाएको छ । यसअघि चेक रिपब्लिकले टर्कीविरुद्ध २५७ रनको फराकिलो जित अन्तरलाई पछि पारेको हो । नेपालले २७३ रनको जित निकाल्न सफल भयो ।














