१५ औं महाधिवेशनमा देउवा समूहको उम्मेदवार म हुँ : डा. शशांक कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला अहिले आफ्नो ध्यान १५ औं महाधिवेशनको तयारीमा रहेको अभिव्यक्ति पटक पटक दिइरहेका छन् ।
केही समय पहिला संसद भवनमा बेप्रसँगमै आफू १५ औं महाधिवेशनको तयारीमा रहेको बताएका डा. शशांकले आज चितवनमा आफू सभापति शेरबहादुर देउवाको उम्मेदवार बन्ने जिकिर गरेका छन् ।
१३ औं महाधिवेशनमा महामन्त्री भएका डा. कोइरालाले १४ औं महाधिवेशनमा सभापतिको चुनाव लड्ने बताएका थिए । तर उनी सभापतिको चुनाव लडेनन भने कोइराला परिवारकै दाजु डा. शेखर कोइरालालाई समर्थन पनि गरेनन् ।
जसका कारण त्यतिबेला परिवार मिलाउन नसकेको आरोप लागएको थियो । अहिले पनि डा. शेखरले १५ औं महाधिवेशनको तयारी गर्ने बताइरहेका बेला डा. शशांकको अभिव्यक्तिले फेरि कांग्रेसको राजनीतिक तरंगित हुन थालेको छ ।
भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले वर्तमान सभापति कोइरालाले अबको कार्यकाल फेरि प्रतिस्पर्धा गर्न नपाउने भएकाले उनले आफूलाई सघाउने बताए ।
नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईं हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले भने, “सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?” उल्टै पत्रकारलाई प्रश्न गरेका थिए ।