सहमहामन्त्री खुकुरी प्रहार प्रकरण : नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन, नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ।
बुधवार नेविसंघ, अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै पार्टी सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक हमलाले देशमा आम नागरिकको जिउ ज्यानको रक्षा गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्णरुपले असफल पुष्टि भएको भन्दै तत्काल राजीनामा दिन माग गरेका छन् ।
अध्यक्ष शेर्पाद्वारा विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल सरकारको पूर्व मन्त्री जस्तो व्यक्तिलाई दिन दहाडै सार्वजनिक स्थलमा ज्यान मार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार हुनु निन्दनीय छ । यस घटनाको घोर भर्त्सना गर्दछौँ ।’
गृहमन्त्री मुलुकमा शान्ति सुरक्षा कायम गर्न पूर्ण रूपमा असफल भएको नेविसंघको आरोप छ । ‘देशमा आम नागरिकको जिउ ज्यानको रक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी प्राप्त गृहमन्त्री पूर्णरुपले असफल भएको यस घटनाले पुष्टि गरेको छ। तसर्थ राजधानीको सार्वजनिक स्थलमा पूर्व मन्त्री जस्तो व्यक्तिको सुरक्षा गर्न नसक्ने नालायक गृह मन्त्रीको राजीनामा समेत माग गर्दछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
नेविसघंले आक्रमणमा संलग्न अपराधी र जोडिएका पक्षबारे सूक्ष्म अनुसन्धान गरी कडाभन्दा कडा कारबाहीको माग गरेको छ।