एसिया कप : नेपाललाई पाकिस्तानले दियो ३४३ रनको लक्ष्य

मुल्तान । कप्तान बाबर आजमको शतकीय इनिङ्सका आधारमा पाकिस्तानले एसिया कपको उद्घाटन खेलमा नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनाएको थियो ।
मुल्तानको मैदानमा कप्तान बाबर आजमले १३१ बलमा १५१ रन बनाए भने इफ्तिखार अहमदले अविजित १०९ रनको योगदान दिए । यी दुईबीच २१४ रनको साझेदारी थियो । मोहम्मद रिजवानले ४४ रनको योगदान दिए । बाबरले आफ्नो पारीमा १३१ बलको सामना गर्दै १४ चौका र ४ छक्का प्रहार गरेका थिए । योसँगै इफ्तिखारले ७१ बलमा ११ चौका र ४ छक्का प्रहार गरे ।
बाबर सबैभन्दा छिटो १९ शतक बनाउने ब्याट्सम्यान बने । बाबरले १०२ इनिङ्समा यति धेरै शतक बनाएका छन् । उनले हासिम अमलाको कीर्तिमान तोडे । अमलाले १०४ इनिङ्समा १९ शतक बनाएका छन् ।
पाकिस्तानले सातौं ओभरसम्म दुवै ओपनरको विकेट गुमाएको थियो । तीन नम्बरमा कप्तान बाबर आजम र चौथो नम्बरमा विकेटकिपर मोहम्मद रिजवान ब्याटिङमा आए । दुवैले पाकिस्तानको इनिङ्सलाई सम्हाले र ७५ बलमा अर्धशतकको साझेदारी गरे । २४औँ ओभरमा ४४ रन बनाएर रिजवान रनआउट भए र दुईबीचको साझेदारी टुट्यो । दुवैले तेस्रो विकेटका लागि १०६ बलमा ८६ रन जोडे।
नेपालका सोमपाल कामीले २, सन्दीप लामिछाने र करण केसीले एक एक विकेट हात पारे । उसका दुई विकेट रनआउट भए ।