अमेरिकामा जन्मिएका ११ वर्षीय नेपाली भाषी भुटानी बालक तीन वर्ष देखि दैनिक पढ्दै छन् गीता

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अगस्त तेस्रो सात, साँझ पख पेन्सिल्भेनियाको ल्यानक्यास्टर स्थित उनको घर पुग्दा समिरन धिमाल गीता कक्षाको तयारी गर्दै थिए। ११ वर्षीय समिरनलाई हरेक साँझ गीता कक्षा लिनु पछिल्लो तीन वर्ष देखिको दैनिकी बनेको छ। गीता कक्षा अनलाइनबाट हुन्छ।
भानु आन्टीले औपचारिक रूपमा सुरु गर्नु अगाडि कक्षामा जम्मा भएका सहकर्मीलाई समिरन गीता पाठ गर्न सिकाउदै थिए। उच्चारणमा उनको विशेष जोड थियो। त्यसै अनुरूप उनी साथीहरूलाई सिकाउँथे। ‘रस्वदीर्घ जानेर, चिनेर उच्चारण गर्दा, राम्रो सुनिन्छ।’ उनी साथीहरूलाई सम्झाउँदै थिए।
तीन वर्षको उमेरमा नेपाली पसलमा भएको एउटा घटना सँगै समिरनको भागवत गीता पाठमा साइनो जोडिएको हो। ल्यानक्यास्टरकै नेपाली पसलमा दैनिक प्रयोगका सामाग्री किन्न जाँदा उनले पसलेलाई थाहै नदिइ गीताको किताब उठाएर कुदेका थिए।
जुन घटनाले बाबु आमालाई लज्जित पनि तुल्यायो। छोराको गल्तीमा पसलेसँग माफी मागे। पसलका साहुजीले पनि गीता किताबको पैसा लिन मानेन्। सानो बच्चाले गीता किताब लग्यो राम्रै भयो भनेर पसलेले भनेको समिरनका पिता तिलाचन धिमाल सम्झन्छन्।
घरमा आए पछि समिरन गीता किताब सुमसुमाउथे। तर जब उनी आठ वर्षको भए त्यस पछि मात्र गीता पढ्न पाए। उनी गीता कक्षाको नियमित विद्यार्थी भए। अब त यो उनको दिन चर्या नै भएको छ।
‘यो सबै भगवानको देन हो।’गीता प्रातिको लगावबारे समिरन सुनाउँछन्। ‘कसैले यो गर भनेर त्यो गर भनेर हुँदैन, हामी जन्मेको बेलामा नै भगवानले एउटा बाटो बनाउनु भएको छ।’ परिपक्क मान्छेको जस्तै उनको जवाफ हुन्छ।

उनी भगवानको नाम लिन कसैले भनेर भन्दा पनि मनै भित्रबाट आएको बत्ताउँछन्। समिरनले गीताका सबै अध्याय पढेका छन्। केही अध्याय उनी किताब नै नहेरी पनि भन्न सक्ने भएका छन्।
केही अंग्रेजी त केही नेपाली मिसाएर उनले गीता सार अर्थाउँछन्। ‘भगवानको कुरा जीवन भर गर्छु।’ गीता कहिले सम्म पढ्ने भन्ने प्रश्न झर्न नपाउँदै उनको जवाफ हुन्छ। समिरनले वेद र महाभारत पनि पढ्ने योजना बनाएका छन्।
गीता पढेर के पाइन्छ भन्ने अर्को प्रश्नमा उनको जवाफ हुन्छ, ‘गीतामा नै लेखिएको छ, कर्म गर फलको आस नगर।’ त्यति भन्दा भन्दै पनि उनले थपे। ‘गीता पढ्दा अनुशासन शतप्रतिशत हुन्छ। आत्म विश्वास बढ्छ।’
कक्षा ६ मा अध्ययनरत समिरन कराते खेलाडी पनि हुन्। उनले गीता पढ्न र कराते खेल्न एकै वर्ष देखि सुरु गरेका हुन्।
‘मान्छेले गीता पढेर अर्कालाई पिट्ने भन्छन् तर त्यो होइन, कराते आत्मरक्षाका लागि हो।’ उनी आफैले प्रस्ट्याए। समिरन अंग्रेजी, नेपाली र संस्कृत गरि तीन वटा भाषा बोल्छन्।

यो उमेरमा सबै कुरा साथ लैजान गाह्रो हुँदैन भन्ने प्रश्न झर्न पाउँदा नपाउँदै उनी गीताकै उदाहरण दिन पुग्छन्।
‘अब फेरि गीतामा नै गए,गीतामा के भन्छ भने हामी निमित्त मात्र हौ,बाहिर हामी हौ, भित्र भगवान् नै हो।’ उनी थप्छन्,’मलाई गाह्रो सजिलो भन्ने नै हुँदैन गर्नु पर्छ काम।’
गीता पढेर स्कुलमा झन् सजिलो भएको समिरनको भनाई छ। उनी दैनिक रूपमा निधारमा टिका लगाएर नै जान्छन्। तीन कक्षामा हुँदा एक पटक शिक्षिकाले सोधेकी पनि थिइन। ‘तिम्रो निधारमा के भएको? कसरी रगत आयो? सबै ठिक छ? तिमि ठिक छौ।’ उनले शिक्षिकालाई सबै कुरा बुझाए टिकाको महत्वको बारेमा सम्झाए। त्यस पछि स्कुलमा यो प्रश्न कसैले सोधेको छैन्।
नेपाली भाषी र केही भारतीयमुलका साथीहरुले टिका त घरमा हुँदा पो लगाउने बाहिर जाँदा किन लगाउने भनेर कहिले काहीँ प्रश्न नगरेका भने होइनन्। तर उनलाई टिका लगाएर हिँड्दा कुनै अप्ठेरो महसुस गरेका छैनन्।
उनका पिता तिलाचन धिमाल छोराको गतिविधिमा सन्तुष्ट छन्। ‘उसले प्राप्त गरेको आत्मविश्वास ज्ञान अरूलाई बढ्न सकोस् त्यही कामना छ।’ तिलाचन भन्छन्।
त्यसो त समिरन परिवारका सदस्यहरूलाई गीता दर्शनका बारेमा प्रवचन दिने भइसकेका छन्। जीवनको अन्तिम अवस्थामा पुगेकी साइनोले हजुर आमालाई उनले जीवन र मोक्ष प्राप्तिको ज्ञान बाढेका थिए।
उनी समुदायमा हुने भजन कीर्तनमा पनि नियमित पुग्ने गरेका हुन्छ। करातेका विभिन्न प्रशिक्षण तथा प्रतियोगितामा सहभागी हुँदा उनी गीता वाचन गर्न छाड्दैनन्।

गत जुन महिनामा ओहायो राज्यको रेनोल्डबर्गमा सम्पन्न ट्रान्स अमेरिकन कराते च्याम्पियनसिपका प्रमुख अतिथि काउन्टी म्यान भुवन प्याकुरेलले समिरनको प्रतिभाले आफ्नो आँखा रसाएको प्रतिक्रिया दिएका थिए। च्याम्पियनसिपको उद्घाटनमा समिरनले गीता वाचन गरेका थिए।
‘म तपाईँबाट गर्भ गर्छु, तपाईँले गीता वाचन गर्दा मेरा आँखा रसायो, तपाईँले गीता पढेको मात्र होइन हाम्रो जरातर्फ लाग्नु भएको छ, त्यो हाम्रो समुदायको स्रोत हो, तपाईँलाई धन्यवाद।’ मन्तव्यको क्रममा प्याकुरेलले भनेका थिए।
त्यस अगाडि ल्यानक्यास्टरमा नै भएको कराते सेमिनारमा नेपाली करातेका संस्थापक थानेश्वर (टीएस) राईले पनि अमेरिकामा जन्मिएको बालकले यसरी गीता पढ्नु आफ्ना लागि आश्चर्यको विषय भएको बताएका थिए।
‘म उनीहरुकै घरमा बसेको थिए। बिहान टेलिभिजनमा कसैले गीता भनिरहेको होला भन्ने सोचेको थिए तर होइन रहेछ समिरनले पो गीता वाचन गरेका रहेछन म धेरै खुसी छु। अमेरिकामा पनि यस्तो हुने रहेछ।’ नेपाली करातेका पिता राईले भनेका थिए।