सत्तालाई ‘बार्गेनिङको टुल’ बनाउने प्रवृत्ति बढ्दै छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तालाई बार्गेनिङको टुल बनाउने प्रवृत्ति बढ्दै गएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमा पोष्ट राख्दै भ्रष्टाचारका काण्डहरू सार्वजनिक भए पनि ठुलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम बनाउने काम भइरहेको बताए ।
उनले भने, यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठुलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ’सत्ता बार्गेनिङको टुल बनाउने सम्भावना एकदमै देखिन्छ । ’
उनले विगतमा जस्तै समान धारणा भएको पार्टीहरू एकै स्थानमा आउने हो भने भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी संरचनागत र संस्थागत सुधार गर्ने वातावरण बन्ने बताए ।
उनले लेखेका छन्, यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टी भित्र समान धारणा भएको एक ठाउँमा आउँ । यस्तै धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाऊँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔँ । हामीले प्रयास गर्यो भने यी विषय लगायत भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी संरचनागत र संस्थागत सुधार गर्ने वातावरण अहिले बन्दै छ ।
महामन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाउनु पर्ने भन्दै नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानुन बनाउनु पर्ने बताए ।
उनले भने, नीतिगत हो, के होइन प्रस्ट गरौँ । संसदबाट स्वार्थको द्वन्द्वसम्बन्धी कानुन अविलम्ब पारित गरौँ । अनुसन्धान गर्ने निकायलाई सबल बनाउन र निष्पक्ष रूपमा काम गर्नका लागि के के कानुनी व्यवस्था बदल्नुपर्छ त्यसमा काम गरौँ । यो सँगै अभियोजन गर्ने सरकारी वकिल र न्यायालयलाई निष्पक्ष क्षमतावान् बनाउन अहिले भएको व्यवस्थामा के–के बदल्नपर्छ यसमा पनि काम थालौँ।
महामन्त्री थापाले कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पर्न नहुने भन्दै, ’निर्दोष कोही नपरून्, दोषी कोही नछुटुन् भन्ने मूल मन्त्र नै सबैले अपनाउनु पर्ने बताए ।
सबै कुरामा आफ्नो पहलकदमी रहने उल्लेख गर्दै जुनसुकै पार्टीमा जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लाग्नु पर्ने उनको भनाइ छ ।