‘एनआरएनए नागरिकता’ लिन कुनै झन्झट नहोस् भन्नेमा सरकार सजग र प्रतिबद्ध छ : गृहमन्त्री श्रेष्ठ
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
काठमाडौँ/ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैर आवासीय नेपाली (एनआरएन) नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण सम्पन्न गरी सहजै प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरू सँग सोमवार सिंहदरबारस्थित गृह मन्त्रालय भएको भेटमा गृहमन्त्रीले सो प्रतिबद्धता जनाएको एनआरएनएको विज्ञप्तिमा उल्लेख छ।
एनआरएनएका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री श्रेष्ठले हाल बनिरहेको भइरहेको गैर आवासीय नेपाली नागरिकताको नियमावलीमा समावेश गरिने प्रावधान गैर आवासीय नेपालीमैत्री बनाउन सरकारसँग आग्रह गरेको थियो।
“गैर आवासीय नेपाली नागरिकता लिन कुनै झन्झट नहोस् भन्नेमा सरकार सजग र प्रतिबद्ध छ ।” भेटमा मन्त्री श्रेष्ठले भनेको एनआरएनएको विज्ञप्तिमा उल्लेख छ।
उक्त भेटमा संघका कार्यकारी अध्यक्ष डा केसीले गैर आवासीय नेपाली नागरिकता सम्बन्धी नियमावली यथाशक्य छिटो निर्माण गरी नागरिकता प्राप्तिका लागि मार्ग प्रशस्त गरिदिन हुन अनुरोध गरेका थिए। डा केसीले नियमावलीमा राखिने प्रावधान अप्ठ्यारा भए नागरिकता लिँदा झन्झटिलो हुने भएकोले निर्माण चरणदेखि नै सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

नागरिकता जिल्ला प्रशासन कार्यालयबाटै दिइने व्यवस्था मिलाउन र नागरिकताको ढाँचा अन्य नेपालीले पाउने नागरिकताको बनाई नागरिकताको तल लेखिने किसिममा मात्र गैर आवासीय लेख्दा उपयुक्त हुने सुझाव डा केसीले दिएका थिए।
यस्तै, गैर आवासीय नेपाली नागरिकता दिँदा निवेदकको वा निजको बुवा, आमा, बाजे बज्यै मध्ये कसैको नेपाली नागरिकताको प्रमाण पेस गर्ने, ऐनमै व्यवस्था भएको र सो नागरिकता बनाउँदा स्थानीय तहकै सिफारिसमा सबै प्रक्रिया पुरा गर्ने भएकोले पुनः गाउँपालिका, नगरपालिका वा नेपाली दूतावासको सिफारिस ल्याउनुपर्ने प्रावधान परिवर्तन गर्नुपर्ने प्रतिनिधिमण्डलको सुझाव थियो ।
यस्तै अनलाइन तथा नेपाली दूतावास वा महावाणिज्य दूतावासबाटै नागरिकता प्राप्तिका लागि निवेदन दिन मिल्ने व्यवस्था गर्नुपर्ने लगायतका विभिन्न सुझावहरू संघको तर्फबाट गृहमन्त्रीसमक्ष प्रस्तुत गरिएको छ ।
जवाफमा गृहमन्त्री श्रेष्ठले सरकारले विदेशमा रहेका नेपालीलाई अप्ठ्यारोमा पार्ने प्रावधान नराख्ने तर केही प्राविधिक समस्या देखा परे त्यसमा सहजीकरण गर्ने बताए।
सरकारले विदेशमा बस्ने नेपालीका लागि गैर आवासीय नेपाली नागरिकता दिने व्यवस्था अनुरूप ऐन जारी गरे पनि त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली निर्माणकै चरणमा रहेकोले त्यसमा संघले आफ्ना सुझावहरू पेस गरेको हो ।
भेटमा कार्यकारी अध्यक्ष केसीसहित, उपाध्यक्ष डीबी क्षेत्री, आइसीसी युवा संयोजक अब्दुल बासिद, युरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई, एनसीसी थाइल्यान्डका भविन्द्र बस्नेत,पूर्व सल्लाकार टी बि कार्की, एनसीसी थाइल्यान्डका पूर्व युवा संयोजक दीपेश श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, सरोज दाहाल कुनाल मिश्र लगायतको उपस्थिति रहेको थियो ।
गृह सचिव भट्टराईसँग भेट

कार्यकारी अध्यक्ष डा बद्री केसीले गृह मन्त्रालयका सचिव दिनेश भट्टराईसँग आइतबार भेट गरेका छन्। सो अवसरमा डा केसीले गैर आवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण सम्पन्न गरी सहजै नागरिकता लिन सकिने व्यवस्था मिलाउन आग्रह गरेको एनआरएनएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘नियमावलीमा समेटिने प्रावधानले भविष्यमा कुनै पनि अप्ठ्यारो नहोस् र सजिलै नागरिकता प्राप्तिको बाटो खुलोस् भन्ने हाम्रो अपेक्षा हो ।’ भेटमा डा केसीले भनेको विज्ञप्तिमा भनिएको छ।
सो अवसरमा सचिव भट्टराईले आफूहरूले सकेसम्म सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। हाल नियमावली निर्माणको अन्तिम चरणमा रहेकोले गैर आवासीय नेपाली संघबाट प्राप्त सुझावहरूलाई पनि समेटेर यथाशक्य छिट्टै नियमावली ल्याउने तयारीमा रहेको उनको भनाई थियो ।
भेटमा युरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई समेत उपस्थित थियो।
फोटो एनआरएनए सचिवालय
















