पारस खड्काद्वारा बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उठ्ने घोषणा
|
Getting your Trinity Audio player ready...
|
काठमाडौ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रादेशिक संघको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालका सर्वाधिक सफल खेलाडी मानिएका खड्काले बागमती प्रदेशका ४ जिल्लाको समर्थनसहित यस प्रदेशको अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको घोषणा गरे ।
खड्का काठमाडौं, ललितपुर, भक्तपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षहरुले समर्थन गर्ने घोषणा गरेका छन् ।
बागमती प्रादेशिक क्रिकेट संघको चुनाव आगामी भदौं १५ गतेका लागि तोकिएको छ ।
पत्रकार सम्मेलन गर्दै खड्काले आफू बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उठ्ने औपचारिक रुपमा घोषणा गरे ।
उनले भने ‘ क्रिकेटको प्रादेशिक संरचनालाई बलियो बनाउने आफ्नो लक्ष्य हो । ’
पत्रकार सम्मेलनमा पारससँगै मकवानपुर जिल्लाका अध्यक्ष करण महत्रा क्षेत्री, काठमाडौंका अध्यक्ष दिवाकर थापा, भक्तपुरका अध्यक्ष मनिषराज पाण्डे र ललितपुरका अध्यक्ष शेखर श्रेष्ठ थिए । खड्काले काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यता लिएपछि बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।
चितवन र नुवाकोट क्रिकेट संघको प्रतिनिधिको उपस्थिति भने पत्रकार सम्मेलनमा थिएन ।
नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्य समिकिो चुनाव आगामी असोज पहिलो साता हुने तय भएको छ ।












