न्यु योर्क लङआइल्याण्डमा सम्पन्न मैत्रीपूर्ण फुटबल: एनभीएफटी युएसए विजयी
लङआइल्याण्ड, न्यु योर्क / लङआइल्याण्ड नेपाली समाज न्यु योर्कद्वारा शनिवार आयोजित मैत्रीपूर्ण फुटबल खेल नेप्पलीज भेट्रान फुटबल टिम यु एस (एनभीएफटी)ले जितेको छ।
लङ्गआइल्याण्डको हिट्सफिल्समा भएको खेलमा एनभीएफटीले आयोजकको फुटबल टिम एलआइ किङ्सलाई सातका विरुद्ध आठ गोलले हरायो।
प्लेइङ्ग ११ र ४५ मिनेट नै खेलाइएको खेलमा अन्तिम मिनेट सम्म रोचक बन्यो। पहिलो हाफमा ४-१ ले अगाडि रहेको एलआइ किङ्ग अन्तिम एक मिनेट सम्हालिन नसक्दा हार स्वीकार्न पुग्यो।
दोस्रो हाफमा जमेको एनभीएफटीका लागि चुङ्दा लामाले चार तथा गणेश गुरुङ तीन गोल गरेका थिए। लक्ष्मी पौडेलको भागमा पनि एक गोल परेको थियो।


एलआइ किङ्सबाट प्रवीण क्षेत्री र विश्व मैनाली दुई दुई गोल गरे। यस्तै मोहित क्षेत्री, प्रभाकर पाण्डे र सम्वत भण्डारीले एक एक गोल गरे।
खेल सकिन एक मिनेट बाँकी हुँदा सम्म दुवै टिम सात सात गोलको बराबरीमा थिए। त्यही समय एनभीएफटीले पेनाल्टी भयो। डी बक्स भित्र विपक्षी खेलाडीले ह्याण्ड गरे पछि प्राप्त पेनाल्टीलाई लक्ष्मी पौडेलले सदुपयोग गरिन।

त्यसको तीस सेकेन्ड भित्र एलआई किङ्सले पनि पेनाल्टी पाएको थियो। तर मोहित क्षेत्रीको प्रहारलाई विपक्षी गोलकिपर टासी धुन्दुपले बचाउँदै टिमलाई जित दिलाए।
खेलमा पौडेल उत्कृष्ट खेलाडी घोषित भइन्।

विजयी टिमका खेलाडीलाई लङ्ग आइल्याण्ड नेपाली समाजका अध्यक्ष वसन्त चापागाईँ,प्रमुख अतिथि नेपाली महिला पूर्व राष्ट्रिय खेलाडी लक्ष्मी पौडेल, खेल कार्यक्रम संयोजक टिकाराज ढकाल र योग राज पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए।
समाजका युवा संयोजक विशाल रेग्मीले सञ्चालन गरेको पुरस्कार वितरण समारोहमा नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनीन्द्र नेम्बाङ्ग, नव निर्वाचित एनआरएनए आइसीसी सदस्य दुर्गेश जङ्ग कार्की, र जनसम्पर्क समिति लङ्ग आइल्याण्ड च्याप्टरका सभापति विश्व बास्तोला, उपस्थित थिए।

यस्तै महेश खड्का , कल्पना थापा , समाजका महासचिव बाबुराम शर्मा, हेम्पस्टेड समुदाय मामिला सदस्य को सहर हेम्पस्टेड टाउन समुदाय मामिला सदस्य शङ्कर भण्डारीले आयोजक लाई धन्यवाद तथा विजेतालाई बधाई दिएका थिए। समाजका सल्लाहाकार वेद खरेलले लिखित शुभकामना पठाएका थिए।
खेलका रेफ्री शिव राज फागु , लाइन्समेनहरु डा. प्रनब दाहाल ,डा. हरि दाहाल , सुमन बास्तोला र मोहन छेत्री रहेका थिए ।

















