एनआरएनए आइसीसीमा अमेरिकाबाट झन्डै दर्जन उम्मेदवार, अध्यक्ष र महासचिवमा दुई-दुई जना
पेन्सिलभेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइससीसी) को आगामी निर्वाचनमा अमेरिकाबाट झन्डै एक दर्जनले उम्मेदवारी दिने घोषणा गरेका छन्।
निर्वाचनको मिति अझै तय भएको छैन। अक्टोबर अगाडि चुनाव हुनु पर्छ। आइसीसी सचिवालयका अनुसार परराष्ट्र मन्त्रालयले प्रस्तावित मितिमा स्वीकृति जनाउन बाँकी छ।
राष्ट्रिय समन्वय परिषद् (एनसीसी)का चुनाव सकिदा नसकिँदै आइसीसिका लागि उम्मेदवारी घोषणाको होड चलेको हो।
एनसीसी अमेरिकाको सिकागोमा गत आइतबार सम्पन्न १२ औ साधारण सभालाई कतिपयले आइसीसीका लागि आफ्नो उम्मेदवारी घोषणाको थलो बनाए।
अतिथिको मन्तव्य दिएकी आइसीसीकी अध्यक्ष रविना थापाले फेरि पनि अध्यक्षमा भोट मागिन्।
अघिल्लो पटक गन्जागोल मिलाउने क्रममा अध्यक्षमा रविनालाई लटरी परेको भन्नेहरू धेरै छन्। एनआरएनएमा लोकतान्त्रिक र वामपन्थी गरी दुई धार देखिँदै आएको छ। लोकतान्त्रिक धारमा प्रायशः दुई गुट देखिँदै आएको छ।
नेपाली कांग्रेस निकट रहेका तर कुल आचार्य र डा. केशव पौडेललाई नरुचाउनेहरुले अघिल्लो पटक रविनालाई बोकेका थिए।
त्यसो त रविनाको उम्मेदवारीलाई लिएर डा. बद्री केसी पक्षधरहरूले खुसी मनाएका थिए। किनकि कुल आचार्य टिमले चुनाव नै बहिस्कार गर्ने सम्मको अवस्था आउँदा सिङ्गो कांग्रेसले बहिस्कार गरेको छैन है भने देखाउन रविनाको उम्मेदवारीले सहयोग गर्ने बुझाइ केसी पक्षधरको रहेको थियो।
त्यति बेलै रविनालाई डमी उम्मेदवार भनिएको थियो। पछि तीन तीन अध्यक्ष सहित जम्बो टिम बनाउने क्रममा रविनाले इतिहास लेखाउन सफल भएकी थिइन।
यस पटक कुल आचार्यले मुख खोलेका छैनन्। तर डा. केसीले चुनाव लड्ने तयारी गरेका छन्। ‘डा. बद्रीजीको अन्तिम निर्णय आएको छैन, अहिले सम्म उहाँ अध्यक्षको उम्मेदवार हो।’ केसी निकटका आइसीसी पदाधिकारीले समाज टाइम्सलाई भने।’मुख्यतय डेलिगेटको टुङ्गो लागे पछि उहाँको अन्तिम निर्णय आउँछ।’
आइसीसीका वर्तमान महासचिव डा. केशव पौडेलले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। यद्पी उनी आफैले यसको घोषणा गरेका छैनन्। एनआरएनए अमेरिकाको सिकागो साधारण सभामा समाज टाइम्स सँगको कुराकानीमा उनले अहिले नै औपचारिक रुपमा घोषणा गर्न पदीय जिम्मेवारीका कारण उत्ताउलो हुने बताएका थिए।
जापानका निवासी आइसीसीका उपाध्यक्ष महेश श्रेष्ठ र डा. पौडेल मध्ये एक जनाले लोकतान्त्रिक धारको नेतृत्व गर्ने गरी तयारी भइरहेको जानकारहरूको भनाई छ।
त्यो कुराको पुष्टि डा. पौडेल स्वयमले पनि समाज टाइम्स सँग गरेका छन्। ‘हो हामी छलफलमै छौ, म र महेश जीमा एक जना अध्यक्षका प्रत्याशी हुनेमा पहल गर्दै छौ।’
त्यसो त बेलायत निवासी वर्तमान उपाध्यक्ष डा. हेमराज शर्मा र कतारमा व्यवसाय गर्दै आएका आर के शर्मा पनि अध्यक्षको लाइनमा छन्।
‘आधा दर्जन अध्यक्षका आकांक्षी मध्ये दुई डाक्टर केसी र पौडेल बिचमा चुनाव भयो भने आश्चर्य नमान्दा हुन्छ।’ आइसीसीका एक पदाधिकारीले समाज टाइम्स सँग भने।
एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा आइसीसीका हालका कोषाध्यक्ष सुनिल साहले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन्। ‘कोषाध्यक्षमा मैले जिम्मेवारी राम्रो सँग पुरा गरे, अब मेरो जाने ठाँउ त्यो भन्दा माथि हो।’ साहले समाज टाइम्स सँग भने।
कुन टिमबाट चुनाव लड्ने भन्ने अहिले सम्म टुङ्गो नलागेको साहले बताए। एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो सँग साह निकट छन्। साह अघिल्लो पटक कुल आचार्य टिममा थिए। उनलाई यस पटक डा. केसी टिमले पनि अफर गरेको बताइएको छ।
आइसीसीका सचिव राजन त्रिपाठीले पनि अब उपाध्यक्षमा इच्छा राखेको बताइएको छ। त्रिपाठी एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने निकट हुन्। अघिल्लो पटक त्रिपाठीले हल्लाखल्लै नगरी घरमै बसेर सचिव पाएका थिए। यस पटक ६ उपाध्यक्ष मध्ये एकमा आफू अटाउनेमा उनी विश्वस्त भएको बताइन्छ।
टेक्ससका व्यवसायी गौरी जोशी आफू महासचिवमा दोहोरिने बताएका छन्। सिकागोमा समाज टाइम्स सँगको भिडियो कुराकानीमा उनले मुख खोलेका हुन्।
‘स्मार्ट एनआरएनको काम गर्न अझै बाँकी छ त्यस कारण मैले फेरि एक पटक महासचिवमा नै बस्ने निर्णय गरे।’जोशीले भने। अमेरिकामा आफूले समर्थन गरेको उम्मेदवारले अध्यक्षमा जिते पछि जोशी झनै हौसिएका छन्। एनआरएनए अमेरिकामा डा. अर्जुन बन्जाडेले चुनाव जितेका थिए।
अमेरिकाबाट डेलिगेट छान्ने जिम्मा वरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले पाएका छन्। उनी जोशीका खास मान्छे हुन्। बन्जाडेलाई जोशीले बाध्यताले सहयोग गरेका हुन्।
एनआरएनए अमेरिकामा आफ्नो उम्मेदवार डिलु पराजुलीलाई जिताउन नसकेका निवर्तमान अध्यक्ष बुद्धि सागर सुवेदीले पनि आइसीसीमा जोशीलाई चुनौती दिने आँट गर्ने भएका छन्।
‘म आइसीसीमा पदाधिकारीको उम्मेदवार हो।’ सुवेदीले समाज टाइम्स सँग भने,’ साथीहरू सँग छलफल हुँदै छ उपाध्यक्ष र महासचिव मध्येमा एक पदमा म उम्मेदवारी दिन्छु।’
महासचिवमा अहिले सम्म अमेरिका बाहिरबाट युरोपका गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन्।
गौतम वर्तमान कमिटीका सचिव हुन्। आइसीसीका वर्तमान सचिव प्रमोद सिटौलाले उप महासचिवमा उम्मेदवारी दिने बताएका छन्। सुरुमा उनले आफूलाई महासचिवको रूपमा प्रचार गरेका थिए। तर जोशीले दोहोर्याउने घोषणा गरे पछि मुड चेन्ज गरेका हुन्।
कुन टिमबाट उम्मेदवार हुने भन्ने अहिल्यै नै आफूले तय नगरेको सिटौलाले बताए। ‘म लोकतान्त्रिक धारको मान्छे स्वाभाविक रूपमा यति टिमबाट उम्मेदवार हुने भन्ने नै हुन्छ तर एनआरएनएमा को लोकतान्त्रिक को वामपन्थी भन्ने पनि छ। हामी छलफलमै छौ तर म उप महासचिवको उम्मेदवार हो र चुनाव जित्छु पनि।’ उनले भने।
एनआरएनए अमेरिकाको अध्यक्षमा वाक ओभर दिएका निवर्तमान वरिष्ठ उपाध्यक्ष कृष्ण जीवी पन्थले अब आफ्नो यात्रा आइसीसी भएको बताएका छन्। पन्थले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
एनसीसी अमेरिकाको निर्वाचनमा पन्तले डा. अर्जुन बन्जाडेको मोर्चा सम्हालेका थिए।
आइसीसीमा यस पटक सचिव पद ६ जनाको रहेको छ। अमेरिकाज क्षेत्रीय संयोजक रामसी पोखरेलले पनि अबको यात्रा आइसीसी सचिव भएको बताएका छन्।
यस्तै हालका डिआरसी पशुपति पाण्डे र अघिल्लो पटक एनसीसी अमेरिकाको उपाध्यक्षमा चुनाव हारेका वासुदेव अधिकारीले आरसीको तयारी गरेका छन्।















